कृष्णभीरस्थित पृथ्वी राजमार्ग भासियो, सडक आवागमन पूर्णरूपमा अवरुद्ध


धादिङ।

अविरल वर्षाका कारण त्रिशूली नदीमा आएको भीषण बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पृथ्वी राजमार्गको सडक भासिएको छ । सडक भासिएपछि सो खण्डमा सडक आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार बाढीले सडक भासिएर सवारी साधन आवागमन अत्यन्त जोखिमपूर्ण भएपछि सडक पूर्णरूपमा बन्द गरिएको हो । प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) द्वारा जारी सूचनामा सम्पूर्ण यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र जोखिमयुक्त स्थानतर्फ यात्रा नगर्न अनुरोध गरिएको छ ।

अवरुद्ध सडक खुलाउनका लागि सम्बन्धित निकायबाट आवश्यक पहल तथा व्यवस्थापनको कार्य भइरहेको प्रशासनले जनाएको छ । सडक पुनः सञ्चालनमा नआएसम्म धैर्य र सतर्कता अपनाउन तथा कुनै विपद्जन्य घटना घटेमा तत्काल नजिकको सुरक्षा निकायमा सम्पर्क गर्न आग्रह गरिएको छ ।