–२२३ शिक्षक–विद्यार्थीको मृत्यु, १८ बेपत्ता
–रसुवा, नुवाकोट र धादिङका २२ विद्यालयमा क्षति
–मनोपरामर्शपछि अस्थायी केन्द्रबाट पढाइ सुरु
काठमाडौँ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा २२३ जना शिक्षक र विद्यार्थीको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् । बाढीका कारण २२ विद्यालय क्षतिग्रस्त भएका छन् । तीमध्ये ६ विद्यालय बाढीले निमिट्यान्न बनाएपछि खण्डहरमा परिणत भएको छ । सबै अवस्थाबारे जानकारी लिन द्रुत टिम आज सोमवारबाट तीन जिल्ला जाने भएको छ ।
शिक्षा विभागले तयार पारेको तथ्याङ्कअनुसार रसुवामा २१६ विद्यार्थी र ७ शिक्षक गरी २०७, नुवाकोटमा १३ विद्यार्थी र धादिङमा १ विद्यार्थी र ३ शिक्षक गरी २२३ जनाको मृत्यु भएको छ । बाढीमा परी नुवाकोटमा १ र रसुवामा १७ जना बेपत्ता भएका छन् । बाढीपछि विभागले सङ्कलन गरेको तथ्याङ्कको प्रारम्भिक विवरणअनुसार रसुवा, नुवाकोट र धादिङमा गरी २२ विद्यालयमा क्षति पुगेको छ । त्यसमध्ये रसुवाको ११, धादिङको ८, नुवाकोटमा ३ रहेका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयका सूचना अधिकारी वीरबहादुर धामीले विनाशकारी बाढीपहिरोमा परी अर्बौं रुपैयाँ बराबरको भौतिक सम्पत्ति क्षति भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘१८ शिक्षक र विद्यार्थी हराइरहेका छन् । करिब आधा दर्जन विद्यालयको नामोनिसाना छैन ।’
कति क्षति भयो ? भन्ने यकिन निर्णय गर्न आइतबार मन्त्रालयअन्तर्गत सिकाइ समूहको बैठक बसेको थियो । बैठकमा यथार्थ विवरण सङ्कलन गर्न आज सोमबारबाट बाढीग्रस्त क्षेत्रमा टोली परिचालन हुनेछन् ।
शिक्षा विभागले गठन गरेको द्रुत सर्वेक्षण टोलीले आजबाट यथार्थ जानकारी सङ्कलन गर्नेछन् । टोलीमा संघ, प्रदेश र स्थानीय तह, दातृ निकायका प्रतिनिधिलगायत सहभागी रहनेछन् । शिक्षा विभागका निर्देशक एवं सूचना अधिकारी निमप्रकाश राठौरका अनुसार आजबाट खटिने टोलीमा विभाग, मन्त्रालय र अन्य निकायका इन्जिनियर रहनेछन् । ती निकायले स्थानीय र प्रदेश सरकारको सहयोगमा संयुक्त अनुसन्धान गर्नेछन् ।
निर्देशक राठौरले करिब १० दिनभित्रमा एकीकृत विवरण आएपछि द्रुत कार्ययोजना बनाएर पठनपाठन सुरु हुने जानकारी दिनुभयो । विभागको नेतृत्वमा तीनवटै जिल्लामा विज्ञसहितको टोली परिचालित हुनेछन् ।
मन्त्रालय, तीन जिल्लाका जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायले सङ्कलन गरिरहेका छन् । सूचना अधिकारी धामीका अनुसार सुरुमा विद्यार्थीलाई पढ्ने वातावरण बनाउन स्थानीय तहको सहयोगमा मनोपरामर्शदाताबाट परामश सुरु गर्ने, त्यसपछि बस्न योग्य विद्यालयमा बिस्तारै विद्यार्थी आउने वातावरण बनाउने र ध्वस्त भएका विद्यालयमा अस्थायी अध्ययन केन्द्र (टीएलसी) बनाएर पढाइ सुरु गर्ने योजना रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार सबै कार्ययोजना तयार गर्न विभागलाई जिम्मेवारी दिएको छ । विनाशकारी बढीले गर्दा अभिभावका र विद्यार्थीहरू निकै मानसिक रूपमै विक्षिप्त अवस्थामा हुनुहुन्छ । यस्तो संवेदनशील अवस्थामा पहिलो प्राथमिकता उद्धार र तत्काल राहत सहयोग उपलब्ध गराइरहेका छौँ । मन्त्री सस्मित पोखरेलले मन्त्रालयका अधिकारीलाई तीन जिल्लाका विद्यालयमा पठनपाठनको व्यवस्था मिलाउन र कार्ययोजना बनाउन निर्देशन दिनुभएको थियो ।
लगत्तै विभागले तीनवटै जिल्ला शिक्षा समन्वय एकाइमार्फत विद्यालय र विद्यार्थीको अवस्थाबारे तथ्याङ्क सङ्कलन गरेको थियो । तथ्याङ्को आधारमा सरकारले विद्यालय भवन निर्माण, स्थानान्तरण र पुनर्निर्माणको काम सुरु गर्नेछ ।
सरकारले विद्यालयगत क्षतिको छुट्टाछुट्टै विवरण, विद्यालयको नाम, विद्यार्थी सङ्ख्या, शिक्षक सङ्ख्या, भवनको क्षतिको अवस्था र पुनः पठनपाठन सुरु गर्न आवश्यक क्रियाकलापबारे छलफल भइरहेको जनाएको छ ।












प्रतिक्रिया