काठमाडौँ।
रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते बिहान आएको विनाशकारी बाढीको पाँचौँ दिनसम्म पनि मानवीय क्षतिको अझै स्पष्ट हुन सकेको छैन । बाढीमा परी मृत्यु हुनेको सङ्ख्या बढ्दै जाँदा ठूलो सङ्ख्यामा मानिस अझै सम्पर्कविहीन छन् । सरकारी निकायले उद्धार, राहत र शव व्यवस्थापनलाई प्राथमिकता दिइरहेका बेला अब बाढीअघि र बाढीपछि मोबाइल नेटवर्कमा सक्रिय रहेका सिमकार्डको विवरणलाई समेत बेपत्ता नागरिकको खोजीको महत्वपूर्ण आधार बनाउने तयारी गरेको छ ।
बाढीपछि बेपत्ता मानिसको यकिन विवरण निकाल्न सरकारले पहिलोपटक मोबाइल फोनको सिमकार्डको सक्रियता र निष्क्रियताको प्राविधिक विवरणलाई पनि अनुसन्धानको आधार बनाएको छ ।
प्रारम्भिक अध्ययन अनुसार भदौ १० गते बिहान करिब ८ बजेसम्म प्रभावित क्षेत्रमा सक्रिय रहेका मोबाइल सिममध्ये करिब १४ हजार सिम बिहान १०ः३० बजेपछि निष्क्रिय भएको देखिएको छ । सरकारले यसलाई तत्कालै १४ हजार मानिस बेपत्ता भएको प्रमाणका रूपमा भने मानेको छैन । एउटै व्यक्तिसँग एकभन्दा बढी सिम हुन सक्ने, फोन बाढीमा बग्न सक्ने, नेटवर्क अवरुद्ध हुँदा सिम अस्थायी रूपमा निष्क्रिय देखिन सक्ने तथा प्रभावित क्षेत्रबाट मानिस सुरक्षित स्थानमा पुगेको हुन सक्ने भएकाले सिमको तथ्याङ्कलाई अन्य विवरणसँग मिलान गर्न लागिएको हो ।
अब ती १४ हजार सिममध्ये कति पुनः सक्रिय भएका छन्, कति अझै निष्क्रिय छन्, सम्बन्धित सिमका प्रयोगकर्ता को हुन् र उनीहरू बाढी प्रभावित क्षेत्रमा थिए कि थिएनन् भन्ने विवरण अध्ययन गरिने भएको छ । यसबाट सम्पर्कविहीन व्यक्तिको सूची थप यथार्थपरक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
स्थानीय तहहरूले बाढीपछि तत्काल उद्धार, राहत र शव व्यवस्थापनमा केन्द्रित हुनुपर्दा नागरिकको विस्तृत विवरण सङ्कलन गर्न नसकेका कारण संघीय सरकारले अब विभिन्न स्रोतका तथ्याङ्क एकीकृत गर्ने तयारी गरेको हो । मोबाइल सिमको विवरणसँगै प्रहरीको उजुरी, परिवारले दिएको बेपत्ता विवरण, अस्पताल, उद्धार केन्द्र, जलविद्युत् आयोजना, अध्यागमन तथा भन्सारका अभिलेखलाई पनि मिलान गर्ने प्रयास भइरहेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतवार दिउँसो १ बजेसम्म सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार भोटेकोशी बाढी तथा त्यसको प्रभावबाट ७८८ जनाको शव फेला परेको छ भने २ हजार ५ सय २ जना अझै सम्पर्कविहीन छन् । बाढी प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार ७ सय ३० जनाको जीवितै उद्धार गरिएको छ ।
स्थानीय तहबाट एकीकृत र पूर्ण विवरण आउन नसकेको तथा बाढीको प्रभावमा परेका मानिसहरू विभिन्न जिल्लाका बासिन्दा, जलविद्युत् आयोजनाका कामदार, सुरक्षाकर्मी, विदेशी नागरिक तथा पर्यटकसमेत भएकाले बेपत्ताको वास्तविक सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूको आँकलन छ ।
७८८ शवमध्ये कति पहिचान भए ?
शवको सङ्ख्या बढे पनि सबै शवको सनाखत हुन सकेको छैन । बाढीका कारण धेरै शव गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् । कतिपय शवसँग पहिचान खुल्ने कागजात वा व्यक्तिगत सामग्री नभेटिएकाले परिवारसँग मिलान गर्न कठिन भएको छ ।
सरकारले पहिचान हुन नसकेका शवलाई विभिन्न जिल्लाका २१ वटा अस्पतालमा सुरक्षित राखेको जनाएको छ । मृतकको पहिचानका लागि नेपाल प्रहरीले विपद् व्यवस्थापनसम्बन्धी डिजिटल पोर्टलमार्फत शवको विवरण तथा तस्बीर सार्वजनिक गरिरहेको छ ।
एक प्रहरी अधिकारीको भनाइ उद्धृत गर्दै सार्वजनिक भएको अर्को विवरणमा हालसम्म २९ शवको पहिचान खुलेर परिवारलाई बुझाइएको उल्लेख छ । तर यो सङ्ख्या प्राधिकरणको ७८८ शवसम्बन्धी पछिल्लो बुलेटिनमा छुट्टै उल्लेख गरिएको छैन । त्यसैले कुल ७८८ मध्ये कति शवको सनाखत भयो ? भन्ने अन्तिम एकीकृत सरकारी तथ्याङ्क अझै सार्वजनिक भएको छैन ।
२ हजार ९ सय अझै सम्पर्कविहीन
बाढीपछि २ हजार ९ सय जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणको पछिल्लो विवरण छ । यसमा स्थानीय बासिन्दादेखि जलविद्युत् आयोजनाका कामदार, विदेशी नागरिक र सुरक्षाकर्मीसमेत छन् ।
सम्पर्कविहीनमध्ये रसुवाका ५६२, नुवाकोटका ११५, मकवानपुरका ६५ तथा विभिन्न जलविद्युत् आयोजनाका ९३३ जना छन् । त्यस्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारी पनि सम्पर्कविहीन सूचीमा छन् । विदेशी नागरिकको सङ्ख्या ५९२ र उनीहरूसँगै भ्रमणमा रहेका १२७ नेपालीसमेत सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ ।
यही कारण सरकारले अब स्थानीय तहबाट आएको नामावली मात्र होइन, मोबाइल सिम, जलविद्युत् आयोजना, अध्यागमन, भन्सार, होटल तथा अन्य अभिलेखसमेत एकीकृत गरेर बेपत्ता नागरिकको वास्तविक सङ्ख्या निकाल्ने तयारी गरेको हो ।
८ हजार ७३० जनाको उद्धार
बाढी प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार ७३० जनाको उद्धार भइसकेको छ । नेपाली सेनाले २ हजार ९७४, नेपाल प्रहरीले २ हजार ६९९ र सशस्त्र प्रहरी बलले ३ हजार ५७ जनाको उद्धार गरेको छ ।
जलविद्युत् आयोजनाका सुरुङमा फसेका २७९ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । त्यस्तै विदेशी नागरिकको उद्धारलाई समेत प्राथमिकता दिइएको छ । आइतवार मात्रै खोज तथा उद्धारका क्रममा ४१ वटा हवाई उडान गरिएको थियो ।
उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी १९ हजार ८९५ सुरक्षाकर्मी परिचालन भएका छन् । प्रभावित क्षेत्रमा स्वास्थ्य उपचारका लागि ६ वटा सर्जिकल मेडिकल टिमसमेत परिचालन गरिएको छ ।
सरकारले प्रभावित क्षेत्रमा हालसम्म ३७ ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाएको छ । हेलिकप्टरमार्फत थप राहत सामग्री तथा सञ्चार उपकरण पठाइएको छ । उत्तरगया र धुन्चे क्षेत्रमा मात्रै दुई टन खाद्य सामग्री पठाइएको प्राधिकरणले जनाएको छ । तर सरकारले अहिलेसम्म कति परिवार वा कति नागरिकले प्रत्यक्ष राहत पाए भन्ने एकीकृत सङ्ख्या सार्वजनिक गरेको छैन ।
कहाँ कति शव भेटिए ?
आइतवार बेलुका ६ बजेसम्म फेला परेका ७८८ शवमध्ये सबैभन्दा धेरै चितवनमा २५९ वटा भेटिएका छन् । बाढीको बहावसँगै रसुवा र नुवाकोटलगायत माथिल्लो तटीय क्षेत्रबाट शव तथा मानव अंग तल्लो तटीय क्षेत्रमा बगेर पुगेकाले चितवनमा मृतकको सङ्ख्या अस्वाभाविक रूपमा बढी देखिएको हो ।
प्राधिकरणका अनुसार नवलपरासी पूर्वमा १८४,नवलपरासी पश्चिममा १००,गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ शव फेला परेका छन् ।
यसअघि आइतवार बिहान ९ बजेसम्म ७७० शव फेला परेको विवरण सार्वजनिक भएको थियो । केही घण्टामै थप १८ शव फेला परेपछि सङ्ख्या ७८८ पुगेको हो । यसले खोज तथा उद्धार कार्यसँगै तल्लो तटीय क्षेत्रमा शव खोजीको क्रम अझै जारी रहेको देखाउँछ ।












प्रतिक्रिया