रसुवा बाढी : नेपाली सेनाद्वारा ३ हजार २१ जनाको उद्धार, ८ हजार ५ सयभन्दा बढी फौज परिचालन


काठमाडौं ।

रसुवामा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले हालसम्म ३ हजार २१ जनाको उद्धार गरेको छ। भदौ १० गतेदेखि जारी उद्धार अभियानअन्तर्गत स्थल तथा हवाई माध्यमबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।

सेनाका अनुसार भदौ १४ गते साँझ ६ः३० बजेसम्म टिमुरे, स्याफ्रुवेशी, मैलुङलगायत क्षेत्रबाट नेपाली सेनाका हेलिकप्टरमार्फत २२ जना विदेशी नागरिकसहित ६२४ जनाको उद्धार गरिएको छ। उद्धार गरिएका विदेशी नागरिकमा १५ चिनियाँ र ७ भारतीय नागरिक छन्।

भदौ १० गतेदेखि हालसम्म स्थलमार्फत २०० जना तथा हवाई साधनमार्फत २ हजार ८२१ जना गरी कुल ३ हजार २१ जनाको उद्धार गरिएको सेनाले जनाएको छ। हवाई उद्धार गरिएकामध्ये विभिन्न देशका ३३८ जना विदेशी नागरिक रहेका छन्। उनीहरूमा १२१ भारतीय, ७२ चिनियाँ, ४ जर्मन, २ अमेरिकी, २ इटालियन, १ ओमानी र १५ दक्षिण कोरियाली नागरिक रहेका छन्।

सुरुङमा फसेकाको उद्धार प्रयास जारी

बाढीका कारण त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका टोलीको उद्धारका लागि भदौ १२ गतेदेखि विशेषज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ। सेनाका अनुसार ३ए को क्राउन हेड फेला परेको छ। सुरुङभित्र पानी भरिएका कारण कम्प्रेसरमार्फत अक्सिजन पठाउने काम भइरहेको छ भने पम्प प्रयोग गरी पानी बाहिर निकाल्ने तयारी भइरहेको छ।

त्यस्तै, ३बी सुरुङ क्षेत्रमा समेत नेपाली सेनाको टोली परिचालन गरी खोज तथा उद्धार कार्य जारी राखिएको छ।

चिलिमे हाइड्रोपावरको सुरुङमा खटिएको उद्धार टोली करिब १०० मिटरभित्र पुगे पनि त्यसपछि सुरुङ पूर्ण रूपमा टालिएको अवस्थामा फेला परेको सेनाले जनाएको छ। मित्रराष्ट्रबाट आएका खोज तथा उद्धार टोलीसँगको सहकार्यमा हाकुबेसी, चिलिमे र लाङटाङस्थित सुरुङ क्षेत्रमा खोजी भइरहेको छ।

४ हजार ८१० किलो राहत सामग्री ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउने कामलाई समेत सेनाले तीव्रता दिएको छ। भदौ १४ गते मित्रराष्ट्र तथा विभिन्न क्षेत्रबाट प्राप्त राहत सामग्री नेपाली सेनाका सवारी तथा हवाई साधनमार्फत काठमाडौं हुँदै त्रिशूलीसम्म पुर्‍याइएको छ।

त्रिशूलीबाट मात्रै करिब ४ हजार ८१० किलो राहत सामग्री धुन्चेलगायत प्रभावित क्षेत्रमा ढुवानी गरिएको सेनाले जनाएको छ। स्याफ्रुवेशी क्षेत्रमा राहत तथा राशन वितरण गरिएको छ।

प्रभावित क्षेत्रमा पैदल गस्ती

बाढीपछि प्रभावित क्षेत्रका जंगल, डाँडाकाँडा, खोला तथा बस्तीमा स्थानीयलाई सुरक्षा प्रत्याभूति दिलाउन नेपाली सेनाले पैदल गस्तीसमेत सञ्चालन गरिरहेको छ। गस्तीका क्रममा स्थानीयसँग प्रत्यक्ष सम्पर्क गरी उनीहरूको अवस्था बुझ्ने र थप उद्धारको आवश्यकता मूल्याङ्कन गर्ने काम भइरहेको छ।

लाङटाङ हाइड्रो क्षेत्रको रेकी तथा पेट्रोलिङसमेत सञ्चालन गरिएको सेनाले जनाएको छ।

२ हजार १४ जनालाई उपचार

नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्रबाट हालसम्म २ हजार १४ जनाले स्वास्थ्य सेवा लिएका छन्।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व हुँदै नवलपरासी पश्चिमसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार ५ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन्।

सेनाले स्थानीय प्रशासन तथा अन्य सुरक्षा निकायसँग समन्वय गरी घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने तथा आपत्कालीन उपचारलगायतका कामलाई निरन्तरता दिइरहेको जनाएको