रसुवा–चीन सीमा क्षेत्रमा १४ फुटबल मैदान बराबरको ताल, थप अर्को ताल पनि भेटियो


काठमाडौं ।

हालै रसुवा–चीन सीमा क्षेत्र हुँदै आएको भीषण बाढी र पहिरोपछि सीमाक्षेत्रमा करिब १४ वटा फुटबल मैदान बराबरको ताल बनेको दाबी गरिएको छ। यही भदौ १० गते नेपाल–चीन सीमाक्षेत्रमा गएको पहिरोका कारण नदी थुनिएर बनेको उक्त तालको क्षेत्रफल करिब १ लाख वर्गमिटर रहेको चिनियाँ सञ्चारमाध्यम न्यूज डट सीजीटीएनले जनाएको छ।

सीजीटीएनका अनुसार उक्त क्षेत्रफल करिब १४ वटा मानक फुटबल मैदान बराबर हो। अगस्ट २९ सम्म एन्नेङ ग्रुपले गरेको अनुगमनका आधारमा चीन–नेपाल सीमा क्षेत्रमा पहिरोका कारण बनेको ‘ब्यारियर लेक–१’ अर्थात् ताल–१ हाल नियन्त्रणमा रहेको दाबी गरिएको छ।

सीजीटीएनले भिडियोसहित प्रकाशित गरेको विवरणमा ताल–१ को अवस्था नियन्त्रणमा रहेको उल्लेख गर्दै त्यसको करिब ५ किलोमिटर माथिल्लो भागमा अर्को ‘ब्यारियर लेक–२’ अर्थात् ताल–२ समेत पहिचान भएको जनाएको छ। पहिरोका कारण नदीको प्राकृतिक बहाव थुनिएर बनेका यस्ता तालले तल्लो तटीय क्षेत्रमा अचानक बाढी आउने जोखिम बढाउन सक्ने भएकाले यसको निरन्तर निगरानी आवश्यक देखिएको छ।

यसअघि रसुवा क्षेत्रमा आएको भीषण बाढीका कारण सीमा क्षेत्रसहित तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। पछिल्लो समय पुनः नदीको बहावमा परिवर्तन र पहिरोको जोखिम देखिन थालेपछि सीमाक्षेत्रमा बनेका यस्ता तालको अवस्था र पानीको निकासबारे थप सतर्कता आवश्यक रहेको छ।