काठमाडौं ।
रसुवामा आएको भीषण बाढीपछि नेपाली सेनाले उद्धार तथा खोजी कार्यलाई तीव्र बनाएको छ। नेपाली सेनाका हेलिकप्टरमार्फत आइतबार बिहान ११ बजेसम्म टिमुरे, धुन्चे र हाकुवेसी क्षेत्रबाट चिनियाँ नागरिक ४ जनासहित १८३ जनाको उद्धार गरिएको छ। बाढीका कारण प्रभावित तथा जोखिममा परेका नागरिकलाई प्राथमिकताका आधारमा सुरक्षित स्थानमा सार्ने काम भइरहेको नेपाली सेनाले जनाएको छ। यसैबीच, त्रिशूली–३ जलविद्युत् आयोजनाको टनेलमा फसेका टोलीको उद्धार तथा खोजी कार्य पनि तीव्र पारिएको छ।
भदौ १२ गतेदेखि अस्थायी रूपमा परिचालन गरिएको संयुक्त उद्धार टोलीमा थप विशेषज्ञ जनशक्ति सहभागी गराइएको छ। टनेलमा फसेकाहरूको अवस्था पत्ता लगाउन ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटरलगायतका उपकरण प्रयोग भइरहेको छ। बाढीको बहाव केही कम भएपछि टनेलको प्रवेशद्वार पत्ता लगाउने काम पुनः सक्रिय रूपमा अघि बढाइएको सेनाले जनाएको छ। बाढी तथा पहिरोबाट प्रभावित विभिन्न जिल्लामा नेपाली सेनाका ८ हजार ४ सयभन्दा बढी फौज परिचालन गरिएको छ।
उद्धार, खोज तथा राहत कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकाय र स्थानीय प्रशासनसँग समन्वय गरी सेनाले काम गरिरहेको छ। बाढीले सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा उद्धार र राहतसँगै अवरुद्ध संरचना तथा सम्पर्क मार्ग पुनः सञ्चालन गर्ने चुनौतीसमेत बढेको छ। सेनाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानतर्फ सर्न आग्रह गर्दै उद्धार तथा खोजी अभियानलाई निरन्तरता दिएको छ।











प्रतिक्रिया