काठमाडौं ।
बाढी र पहिरोबाट प्रभावित नेपालका लागि श्रीलंकाले १० लाख अमेरिकी डलर मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।
श्रीलंकाको वैदेशिक रोजगार तथा पर्यटन मन्त्रालयले २७ अगस्ट २०२६ मा जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नेपालमा जारी राहत तथा मानवीय कार्यमा सहयोग गर्न उक्त रकम उपलब्ध गराउन निर्देशन दिएका हुन्।
राष्ट्रपति दिसानायकेले विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकका परिवार, नेपाल सरकार र नेपाली जनताप्रति समवेदना प्रकट गरेका छन्। उनले संकटको समयमा श्रीलंका नेपाली जनताको साथमा रहेको बताएका छन्।
उक्त सहयोग बाढी तथा पहिरो प्रभावित समुदायको तत्कालीन राहत र मानवीय सहायतामा प्रयोग गरिने जनाइएको छ। साथै, श्रीलंकाका विदेशमन्त्री विजिथा हेराथले नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग टेलिफोन वार्ता गर्दै नेपालप्रति समर्थन र ऐक्यबद्धता व्यक्त गरेका छन्।











प्रतिक्रिया