काठमाडौं ।
रसुवामा आएको भीषण बाढीपछि उद्धार कार्यलाई तीव्रता दिइएको छ। नेपाली सेनाका हवाई तथा स्थल उद्धार टोलीले आइतबार बिहान ७ बजेसम्म २ हजार ६९७ जनाको उद्धार गरेको जनाएको छ। नेपाली सेनाका अनुसार टिमुरे, स्याफ्रुवेशी, धुन्चे तथा मैलुङलगायतका क्षेत्रबाट हेलिकप्टरमार्फत २ हजार ४९७ जनाको हवाई उद्धार गरिएको छ।
उद्धार गरिएकामध्ये २१६ जना विदेशी नागरिक रहेका छन्। उद्धार गरिएका विदेशी नागरिकमा १२१ भारतीय, ४ जर्मन, ७२ चिनियाँ, २ अमेरिकी, २ इटालियन, १ ओमानी र १५ कोरियाली नागरिक रहेका छन्। यस्तै, स्थलमार्गबाट थप २०० जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यका लागि नेपाली सेनाको ८ हजार ३ सयभन्दा बढी फौज परिचालन गरिएको छ। सेनाले सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी राखेको जनाएको छ।
यसैबीच, बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाका टनेलहरूमा फसेका हुन सक्ने व्यक्तिको खोजी तथा टनेलको प्रवेशद्वार पत्ता लगाउने कामसमेत जारी छ। विभिन्न उपकरण प्रयोग गरी त्रिशूली हाइड्रोपावरको ३ए टनेलको प्रवेशद्वार पत्ता लगाउने प्रयास भइरहेको नेपाली सेनाले जनाएको छ। रातभर खोजी कार्य भइरहेका बेला राति २ बजेपछि ठूलो वर्षा भएपछि खोलाको सतह बढ्नुका साथै खोजी गरिरहेको खाडलमा समेत पानी भरिएपछि केही समयका लागि काम रोकिएको सेनाले जनाएको छ। वर्षा तथा खोलाको बहावमा आएको परिवर्तनका कारण खोज तथा उद्धार कार्यमा चुनौती थपिए पनि मौसम तथा परिस्थितिको अनुकूलताअनुसार पुनः कार्य अघि बढाइने सेनाले जनाएको छ।











प्रतिक्रिया