चितवन ।
गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएकाहरूको खोजीकार्य चितवनमा शनिबार पनि जारी रह्यो। बाढीले बगाएर ल्याएका थप २६ शव शनिबार साँझसम्म चितवनका विभिन्न क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
थप २६ शव फेला परेसँगै चितवनमा संकलित शवको संख्या २५९ पुगेको छ। तीमध्ये हालसम्म ६ वटा शवको मात्र सनाखत भएको प्रहरीले जनाएको छ। सनाखत भएका शव सम्बन्धित परिवारको जिम्मा लगाइएको छ।
बाढीका कारण लामो समयदेखि नदी तथा नदी किनारमा रहेका शवमध्ये अधिकांशको अवस्था बिग्रँदै गएपछि पहिचान र व्यवस्थापनमा चुनौती देखिएको छ। सनाखत हुन नसकेका शवलाई आवश्यक प्रक्रिया पूरा गरी भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जंगलमा जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ।
प्रहरीका अनुसार शनिबार रातिसम्म करिब १ सय शव जमिनमुनि व्यवस्थापन गर्ने तयारी गरिएको छ। शव व्यवस्थापन गर्दा पहिचानका लागि आवश्यक नमुना तथा विवरण सुरक्षित राखिने जनाइएको छ।
रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएका मानिस तथा अन्य सामग्री नारायणी र त्रिशूली नदी हुँदै चितवनसम्म आइपुगेका थिए। बाढीपछि चितवनका नदी किनारमा ठूलो संख्यामा शव तथा मानव अंग फेला परेपछि सुरक्षाकर्मी, स्थानीय प्रशासन र विभिन्न निकायले खोजी तथा उद्धार अभियान सञ्चालन गर्दै आएका छन्।











प्रतिक्रिया