काठमाडौं ।
रसुवाको भोटेकोशी बाढीबाट अति प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहलाई सरकारले ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ। गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै तीन महिनाका लागि ती क्षेत्रलाई विपद् संकटग्रस्त घोषणा गरेको हो।
विपद् संकटग्रस्त क्षेत्रमा रसुवाका ४, नुवाकोटका ४, धादिङका ४, तनहुँका २ र गोरखाका १ स्थानीय तह छन्।
रसुवाका उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङमो गाउँपालिका, नुवाकोटका विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिका समेटिएका छन्।
त्यस्तै, धादिङका गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिका, तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिका तथा गोरखाको गण्डकी गाउँपालिका विपद् संकटग्रस्त क्षेत्र घोषित भएका छन्।
नेपाल–चीन सीमास्थित भोटेकोशी (ल्हेन्दे) क्षेत्रमा आएको विनाशकारी बाढीबाट ती स्थानीय तहमा ठूलो क्षति पुगेकाले सरकारले यस्तो निर्णय गरेको राजपत्रमा उल्लेख छ।
विपद् संकटग्रस्त क्षेत्र घोषणा भएपछि प्रभावित क्षेत्रमा राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउन सरकारलाई कानुनी रूपमा सहज हुनेछ।











प्रतिक्रिया