प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राइम बैंकको ३ करोड ८ लाख सहयोग


काठमाडौं ।

प्राइम कमर्सियल बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ। साथै बैंकले ७ लाख रुपैयाँ बराबरका खाद्यान्न सामग्री समेत उपलब्ध गराएको जनाएको छ।

बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

बैंकका अनुसार भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले सहयोग गरिएको हो। बैंकले प्राकृतिक विपद्का समयमा सरकार तथा प्रभावित समुदायलाई सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।