काठमाडौं ।
रसुवामा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले सञ्चालन गरेको खोज तथा उद्धार अभियानअन्तर्गत हालसम्म २ हजार ४६५ जनाको उद्धार गरिएको छ। नेपाली सेनाका अनुसार २०८३ भदौ १३ गते बिहान ८ बजेसम्म टिमुरे, स्याफ्रुवेशी, धुन्चे तथा मैलुङ क्षेत्रबाट सेनाका हवाई साधनमार्फत २ हजार २६५ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये १६३ जना विदेशी नागरिक रहेका छन्। उद्धार गरिएका विदेशी नागरिकमा ११३ भारतीय, ४ जर्मन, २६ चिनियाँ, २ अमेरिकी, २ इटालियन, १ ओमानी र १५ कोरियाली नागरिक रहेका छन्। त्यस्तै, ३ए टनेल क्षेत्रबाट १९१ जनाको उद्धार गरिएको छ भने स्थलमार्गबाट थप २०० जनाको उद्धार गरिएको सेनाले जनाएको छ।
बाढी प्रभावितको उपचारका लागि नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्रबाट हालसम्म १ हजार ७०६ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ। उद्धार, खोज तथा राहत वितरणका लागि प्रभावित जिल्लाहरूमा नेपाली सेनाका ६ हजार ७ सयभन्दा बढी फौज परिचालन गरिएको छ। उनीहरूले अन्य सुरक्षा निकायसँग समन्वय गरी घाइतेको खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत सामग्री वितरण गरिरहेका छन्। यसैबीच, राहत सामग्री काठमाडौंँबाट स्थलमार्ग हुँदै त्रिशूली पुर्याएर हवाई साधनमार्फत प्रभावित क्षेत्रमा पठाइएको छ।
सेनाका अनुसार ३ए टनेल क्षेत्रमा ३ हजार ६ सय केजी, मैलुङमा ५ सय केजी र बेत्रावतीमा २ सय २० केजी राहत सामग्री हवाई माध्यमबाट ढुवानी गरिएको छ। ३ए टनेल क्षेत्रमा उद्धार कार्यलाई थप तीव्र पार्न नेपाली सेनाका ८४ जनासहित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गरी १४६ जनाको संयुक्त टोली भदौ १२ गतेदेखि परिचालन गरिएको छ। बाढीका कारण रसुवासहित आसपासका क्षेत्रमा ठूलो क्षति पुगेपछि सुरक्षा निकायले उद्धार तथा राहत अभियानलाई निरन्तरता दिइरहेका छन्।











प्रतिक्रिया