काठमाडौं ।
रसुवाको भोटेकोशी बाढीबाट उत्पन्न मानवीय संकटमा राजनीतिक दलहरू उद्धार तथा राहतका लागि एकजुट भएका छन्। सत्तारुढदेखि प्रतिपक्षी दलसम्मले आफ्ना नेता, कार्यकर्ता तथा जनसंगठनलाई प्रभावित क्षेत्रमा परिचालन गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘र्यापिड एक्सन टिम’ (र्याट) मार्फत सुरक्षा निकाय र स्थानीय प्रशासनसँग समन्वय गरी उद्धार तथा राहतमा सक्रियता बढाएको छ। र्याटले रसुवाको मैलुङस्थित सेते ओडारबाट मात्रै करिब २५० जनाको उद्धार गरेको र हालसम्म झण्डै ६०० जनालाई उद्धार गरिएको जनाएको छ। उद्धार गरिएकाहरूलाई नुवाकोटका विभिन्न सेल्टरमा राखेर खाना तथा बसोबासको व्यवस्था गरिएको छ।
नेपाली कांग्रेसले रसुवा बाढी विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समिति गठन गरेको छ। रसुवाका सांसद मोहन आचार्यको संयोजकत्वमा गठन गरिएको समितिले उद्धार, राहत र व्यवस्थापनमा समन्वय गरिरहेको छ। कांग्रेसले राहतका लागि सरकारको कोषमा एकमुष्ट रकम सहयोग गर्ने तयारीसमेत गरेको छ।
नेकपा एमालेले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीलाई प्रभावित क्षेत्रको निरीक्षणमा पठाएको छ। अनेरास्ववियु, युवा संघलगायतका जनसंगठनलाई पनि उद्धार तथा राहतमा परिचालन गरिएको एमालेले जनाएको छ।
नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा नेपाल, आम जनता पार्टी, राप्रपा, श्रम संस्कृति पार्टीलगायतले पनि आफ्ना नेता तथा कार्यकर्तालाई प्रभावित क्षेत्रमा खटाएका छन्। विभिन्न दलले स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरेर राहत, स्वास्थ्य सेवा र उद्धारमा सहयोग गरिरहेका छन्।
यसैबीच उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारको नेतृत्वमा राजनीतिक दल, सुरक्षा निकाय, नागरिक समाज, निजी क्षेत्र र आम नागरिक सबै मिलेर विपद्को सामना गर्नुपर्ने बताएका छन्।











प्रतिक्रिया