धुन्चेमा अलपत्र यात्रुको स्थलमार्गबाट उद्धार सुरु


भक्तपुर । 

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण धुन्चेमा अलपत्र तीर्थयात्री, पर्यटक तथा सर्वसाधारणलाई वैकल्पिक स्थलमार्गबाट काठमाडौँ ल्याउन सुरु गरिएको छ।

बागमती प्रदेश सरकारले धुन्चेबाट मोटरमार्फत महावीरसम्म र त्यहाँबाट करिब एक घण्टा पैदल हिँडाएर चौगटी पुर्‍याउने तथा चौगटीबाट पुनः सवारीसाधनमार्फत काठमाडौँ पठाउने व्यवस्था मिलाएको जनाएको छ। प्रभावित यात्रुका लागि धुन्चे र चौगटीमा निःशुल्क खानाको समेत व्यवस्था गरिएको छ।

प्रदेश सरकारले उद्धारका लागि निःशुल्क बस सञ्चालनमा ल्याएको जनाएको छ। साथै, त्रिशूली पारिको क्षेत्रमा अवरुद्ध मध्यपहाडी लोकमार्ग मर्मत गरी वैकल्पिक यातायात सञ्चालन गर्ने प्रयास भइरहेको बताइएको छ।

यसैबीच, बाढीका कारण अवरुद्ध रसुवाको सडक सञ्जाल पुनः सञ्चालनमा आएको छ। काठमाडौँ–टोखा–छहरे–गड्खारपुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चेसम्मको सडकखण्ड साना चारपाङ्ग्रे सवारीसाधन सञ्चालन हुने गरी खुलाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

सडक सम्पर्क पुनःस्थापित भएसँगै बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा अत्यावश्यक सामग्री पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ।