खोटाङ ।
धार्मिक मेला भरेर घर फर्कँदै गरेका भक्तजन सवार ट्याक्टर खोटाङमा दुर्घटना हुँदा ३४ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुले दूधकुण्डमा लागेको धार्मिक मेला भरेर फर्कँदै गरेका भक्तजन सवार ना५त ४५५५ नम्बरको ट्याक्टर शुक्रबार दिउँसो करिब २ बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित छेपेखोलामा दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार गुडिरहेको ट्याक्टरको पछाडिको भाग बीच सडकमा घोप्टिएपछि दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनामा घाइते सबैलाई उद्धार गरी जिल्ला अस्पताल दिक्तेल पुर्याइएको थियो।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतका अनुसार घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ। जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि २० जनालाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ भने १४ जनाको दिक्तेलमै उपचार भइरहेको छ।
रेफर गरिएका घाइतेलाई नगरपालिकाको एम्बुलेन्स तथा सुमो जिप रिजर्भ गरी काठमाडौं पठाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले जानकारी दिए।
उनका अनुसार दिउँसोदेखि जिल्लामा भइरहेको भीषण वर्षाका कारण उद्धार तथा घाइतेलाई अस्पताल लैजानसमेत कठिनाइ भएको थियो। निरन्तर वर्षाकै बीच घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको हो।
उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार घाइतेहरूको टाउको, हातखुट्टा तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ। दुर्घटनापछि प्रहरीले ट्याक्टर चालक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–७ का २३ वर्षीय रिनिमा शेर्पालाई नियन्त्रणमा लिएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवाभञ्ज्याङतर्फबाट दिक्तेल आउँदै गरेको खाली ट्याक्टर रोकेर भक्तजनलाई चढाइएको देखिएको छ। दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको अवस्था तथा पहिचानसम्बन्धी थप विवरण उपचार र अनुसन्धानसँगै खुल्ने प्रहरीले जनाएको छ।











प्रतिक्रिया