काठमाडौं ।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि बाढीपीडितको सहयोगका लागि काठमाडौंको कलंकी–लाम्पाटीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
लाम्पाटी टोल विकास समितिको आयोजनामा शुक्रबार भएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन्। विपद्को समयमा मानवीय सहयोग आवश्यक पर्ने भन्दै स्थानीयवासी तथा समाजसेवीहरूको सहभागितामा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा सहभागी हुन आएका दर्जनौँ व्यक्तिमध्ये ४० जनाले रक्तदान गर्न सफल भएका थिए। आयोजकका अनुसार विपद्का बेला घाइते तथा बिरामीका लागि आवश्यक पर्ने रगतको अभाव हुन नदिन यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
लाम्पाटी टोल विकास समितिले यसअघि पनि मानवीय सेवाका विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। समितिका अध्यक्ष भीमभक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीले अकल्पनीय क्षति पुर्याएको भन्दै विपद्को यस घडीमा सबैले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताए।
उनले रक्तदानजस्तो मानवीय कार्यले विपद्मा परेका नागरिकको जीवन बचाउन प्रत्यक्ष सहयोग पुग्ने उल्लेख गर्दै आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने बताए।
रसुवामा आएको बाढीबाट प्रभावित नागरिकलाई राहत तथा उद्धारका लागि विभिन्न संघसंस्था र स्थानीय समुदायले सहयोग अभियान सञ्चालन गरिरहेका छन्। लाम्पाटीमा आयोजित रक्तदान कार्यक्रम पनि विपद्को समयमा समुदायले देखाएको मानवीय सहयोग र सामाजिक उत्तरदायित्वको उदाहरण बनेको छ।











प्रतिक्रिया