देशभर जनैपूर्णिमा मनाइँदै, गोसाइँकुण्डमा यसपटक रौनक कम


काठमाडौं ।

श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज शुक्रबार देशभर जनैपूर्णिमा अर्थात् रक्षाबन्धन मनाइँदैछ।

यस अवसरमा वैदिक सनातन धर्मावलम्बीले नदी, ताल तथा पोखरीमा स्नान गरी गुरु–पुरोहितबाट रक्षासूत्र बाँध्ने र नयाँ जनै धारण गर्ने गर्छन्। तागाधारी समुदायले पुरानो जनै फेरेर नयाँ जनै लगाउने तथा ऋषिहरूको पूजा र तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी पनि भनिन्छ।

जनैपूर्णिमामा ११ प्रकारका गेडागुडीबाट बनाइएको परम्परागत परिकार क्वाँटी खाने चलनसमेत छ। तराई क्षेत्रमा भने दिदी–बहिनीले दाजु–भाइलाई राखी बाँधेर रक्षाबन्धन मनाउने प्रचलन छ।

देशका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलका ताल, पोखरी र कुण्डमा बिहानैदेखि मेला लागेको छ।

काठमाडौंको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, जनकपुरधामलगायतका स्थानमा श्रद्धालुको सहभागिता रहेको छ।

यसपटक भने भोटेकोशीमा आएको बाढीले क्षति पुर्‍याएपछि रसुवाको गोसाइँकुण्डमा विगतको तुलनामा जनैपूर्णिमाको रौनक कम देखिएको छ।