काठमाडौँ ।
चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बिहीवार बेलुका सम्म रसुवा, नुवाकोट, चितवनलगायत जिल्लाबाट ४ सय जनाको शव फेला परेको छ भने एक हजारभन्दा बढी अझै बेपत्ता छन् ।
बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाले विदेशी नागरिकसहित ६ सय २ जनाको हवाई उद्धार गरेको छ भने उद्धार, राहत, उपचार र पुनःस्र्थापनाका लागि सरकारले १२ वटा छुट्टाछुट्टै परिचालन टोली खटाएको छ । प्रहरीका अनुसार सबैभन्दा धेरै चितवनमा १ सय ३२ जनाको शव फेला परेको छ । विभिन्न ठाउँबाट उद्धार गरिएका ६३ जना घाइतेहरूको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एक हजारभन्दा धेरै बेपत्ता रहेको जनाइएको छ ।
यसैबीच नेपाली सेनाले बाढी प्रभावित क्षेत्रबाट हिजो मात्रै ६ सय २ जनाको हवाई उद्धार गरेको छ । बिहीवार ५ बजेसम्ममा ६ सय २ जनाको हवाई उद्धार गरिएको नेपाली सेनाले बताएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रहरू टिमुरे, स्याफ्रुबँेसी, धुन्चे, मैलुङलगायत इलाकाबाट ५० विदेशीसहित ६ सय २ जनाको हवाई उद्धार गरिएको हो । त्यसमध्ये जमिनबाट २ सय जनाको उद्धार गरेको जनाएको छ ।
सडक र पुलमा ठूलो क्षति
बाढीका कारण रसुवामा मात्रै करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । बेत्रावती–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक पूर्णरूपमा क्षतिग्रस्त हुनुका साथै गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडक बन्द भएको छ । पृथ्वीराजमार्गको करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ । बाढीले ४१ वटा पुल पूर्णरूपमा क्षतिग्रस्त भएपछि सरकारले सडक सञ्चालनलाई पहिलो प्राथमिकतामा राख्दै बेलिब्रिज जडानको तयारी थालेको छ । सडक खुलाउन सरकारी र निजी क्षेत्रका २० वटा उपकरण परिचालन गरिएको छ ।
उद्धारदेखि क्षति मूल्याङ्कनसम्म छुट्टाछुट्टै टोली
यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राकृतिक विपद्का बेला ज्यान जोखिममा राखेर उद्धार र राहतमा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता र दैनिक खाजा खर्च वृद्धि गर्ने भएको छ ।
गृह मन्त्रालयअन्तर्गत रहेको प्राधिकरणको कार्यकारी समितिको बिहीवार बसेको बैठकले सो निर्णय गरेको हो । बाढी, पहिरो, आगलागी जस्ता प्राकृतिक विपद्का बेला ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीहरूको मनोबल बढाउन सो निर्णय गरिएको प्राधिकरणले जनाएको छ । सरकारले विपद्को समयमा आफ्नै जीवनलाई बाजी राखेर अग्रपङ्क्तिमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जनशक्तिको उच्च योगदानलाई कदर गर्दै यो कदम चालेको हो ।
विपद् व्यवस्थापनलाई अझ प्रभावकारी, दु्रत र परिणाममुखी बनाउन अग्रपङ्क्तिमा खटिने टोलीलाई राज्यका तर्फबाट सम्मान र प्रोत्साहनको अनुभूति गराउनु अपरिहार्य भएकाले सरकारले यो सुविधा परिमार्जन गरेको हो । प्राधिकरणको कार्यकारी समितिको बैठकको यो निर्णयका आधारमा सम्बन्धित सुरक्षा निकायहरूले तालुकदार मन्त्रालयमा लेखिपठाउनुपर्ने छ र सम्बन्धित मन्त्रालयहरूले यसबारे निर्णय गर्नेछन् ।
भोटेकोशी बाढीपछिको उद्धार, राहत, स्वास्थ्य उपचार, सञ्चार, विद्युत् पुनःस्थापना, यातायात तथा क्षति मूल्याङ्कनदेखि बेपत्ता र मृतकको विवरण सार्वजनिक गर्नेसम्मका कामलाई तीव्रता दिन सरकारले १२ वटा छुट्टाछुट्टै मोबिलाइजेसन टिम परिचालन गरेको छ ।
गृह मन्त्रालयको समन्वयमा विभिन्न मन्त्रालय, सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायका अधिकारी सम्मिलित टोलीले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका काम अघि बढाइरहेका छन् ।
बाढीपछिको उद्धार राहत र पुनःस्थापनाका लागि सरकारले ‘रसुवा बाढीसम्बन्धी परिचालन समिति नाममा मोबिलाइजेसन टिम गठन गरी काम थालेको हो । इमर्जेन्सी कम्युनिकेसनमा सञ्चार मन्त्रालयका सहसचिव गौरव गिरीको नेतृत्वमा नेपाल टेलिकम, एनसेल, नेपाली सेना, नेपाल प्रहरी र गृह मन्त्रालयका सदस्य छन् । त्यस्तै विद्युत् पुनःस्थापना र व्याकअप पावर टिममा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मोहन शाक्यको नेतृत्वमा टिम बनाइएको छ ।
जसमा प्राधिकरण, नेपाल आयल निगम, नेपाल प्रहरी र गृह मन्त्रालयका कर्मचारी छन् । खोजी उद्धार तथा राहतका लागि नेपाली सेनाको नेतृत्वमा टिम गठन गरिएको छ । जसमा रन्जित थापा, शीतल बानियाँलगायत छन् । त्यस्तै आकस्मिक स्वाथ्य र मेडिकल रेस्पोन्सका लागि स्वाथ्य मन्त्रालयका सहसचिव डा. हेमन्तचन्द्र ओझाको नेतृत्वमा नेपाली सेनाका डा. नवीन फुयाँल र गृह मनत्रालयका सौरभ बस्याल छन् । शव व्यवस्थापनमा स्वाथ्य मन्त्रालयका डा. समिर अधिकारीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, गृह मन्त्रालय परराष्ट्र मन्त्रालय र संस्कृति तथा पर्यटन मन्त्रालयका कर्मचारी छन् ।
अन्तर्राष्ट्रिय सहायता तथा डोनर कोअर्डिनेसनका लागि अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालको नेतृत्वमा परराष्ट्र, समाज कल्याण परिषद्, नेपाली सेना र गृह मन्त्रालयका कर्मचारी सदस्य रहेको टिम गठन भएको छ । यातायात र कनेक्टिभिटीका लागि पूर्वाधार विकास मन्त्रालयका सहसचिव दिलिप भण्डारीको नेतृत्वमा सडक विभाग, नेपाली सेना, सडक बोर्ड, यातायात व्यवसायी महासंघ नेपाल प्रहरी र गृह मन्त्रालयको कर्मचारी छन् । क्षति तथा आवश्यकता मूल्याङ्कनका लागि योजना आयोगका सहसचिव अर्जुन भण्डारीको नेतृत्वमा टिम गठन गरिएको छ ।
त्यसमा गृह मन्त्रालय र तथ्याङ्क विभागका कर्मचारी सदस्य छन् । सम्पर्कविहीन परिवारको खोजी र सहायताका लागि गृह मन्त्रालयका सहसचिव लोकेन्द्र अधिकारीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाली सेनाका कर्मचारीको टोली गठन गरिएको छ ।
राहत (खाद्यान्न, पानी तथा अत्यावश्कीय सामग्री) व्यवस्थापन गृह मन्त्रालयका शाखा अधिकृत निरन्जन प्रकाश निरौलाको नेतृत्वमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको दयाकृष्ण पन्त सदस्य रहनुभएको छ ।
विमानस्थल समन्वयनका लागि क्यानका महानिर्देशक मुकेश डंगोलको नेतृत्वमा टिम परिचालन गरिएको छ । जसमा नेपाली सेनाका तर्फबाट जगदीश खड्का, निजी वायुसेवाका तर्फवाट मिङमा शेर्पा र गृह मन्त्रालयबाट प्रतिभा चालिसे छन् त्यस्तै सकुशल उद्धार गरिएका, बेपत्ता तथा मृतकहरुको नाम सार्वजनिक गर्ने टिममा गृह मन्त्रालयका फणीन्द्र पौडेलको नेतृत्वमा नुवाकोट र रसुवाका सहायक प्रमुख जिल्ला अधिकारीको टिमले काम गरिरहेको छ ।











प्रतिक्रिया