काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (त्रिवि) को फरेन्सिक विभागअगाडि यतिबेला मृत्युको पीडा र आफन्त भेटिने आशाबीचको एउटा असह्य पीडादायी दृश्य देखिन्छ । भित्तामा टाँसिएका मृतकका तस्बिर नियाल्दै आफन्तहरू आफ्ना प्रियजनको पहिचान खोजिरहेका छन् । कोही तस्बिर हेर्दै भक्कानिन्छन्, कोही अस्पतालका कोठा–कोठामा आफन्त खोजिरहेका छन् भने कोही हराइरहेका परिवारका सदस्य भेटिन्छन् कि भन्ने आशामा प्रहरीलाई विवरण टिपाइरहेका छन् ।
भोटेकोशी–त्रिशूली बाढी र पहिरोले निम्त्याएको विपत्तिपछि काठमाडौँका अस्पतालहरू घाइतेको उपचारस्थल मात्र बनेका छैनन्, बेपत्ता आफन्तको खोजी गर्ने परिवारका लागि आशाको अन्तिम थलोसमेत बनेका छन् ।
त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा भदौ १० र ११ गते गरी १२ वटा शव ल्याइएको सुरक्षार्थ खटिएका प्रहरीले जानकारी दिएका छन् । तीमध्ये चारवटा शव आफन्तले पहिचान गरी बुझेर लगिसकेका छन् । बाँकी शवको पहिचानका लागि आफन्तहरू फरेन्सिक विभाग अगाडि भेला भइरहेका छन् ।
फरेन्सिक विभागको भित्तामा टाँसिएका मृतकका तस्बिर हेर्दै आफन्तले आफ्नो मान्छे पहिचान गर्ने प्रयास गरिरहेका छन् । शव पहिचानका लागि अस्पतालमा पुग्ने आफन्तको भीड, आफन्तको नाम टिपाउने प्रहरी उपचाररत घाइतेका परिवारको उपस्थितिले अस्पताल परिसरलाई थप संवेदनशील बनाएको छ ।
वार्डभित्र उपचार, बाहिर आफन्तको रुवाबासी
त्रिवि शिक्षण अस्पतालमा भोटेकोशी–त्रिशूली बाढीबाट घाइते भएका ३२ जनालाई उपचारका लागि ल्याइएको छ । अस्पतालका अनुसार उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । अन्य घाइतेमध्ये आठ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ भने केहीलाई अर्थोपेडिक तथा न्युरो वार्डमा राखिएको छ । केही घाइतेको आकस्मिक कक्षमै उपचार भइरहेको छ ।
वार्डभित्र चिकित्सक र स्वास्थ्यकर्मी घाइतेको उपचारमा व्यस्त छन् । बाहिर भने आफन्तको भीड छ । कोही अस्पताल ल्याइएका आफन्तको अवस्था बुझ्न आएका छन्, कोही घाइतेको उपचारबारे जानकारी लिन पुगेका छन् भने कोही बाढीमा बेपत्ता आफन्त अस्पतालमा आइपुगेका छन् कि भनेर खोजिरहेका छन् । अस्पतालले उपचाररत घाइतेको विवरण बाहिरै सार्वजनिक गरेको छ । नेपाल प्रहरीको टोलीले हराइरहेका आफन्तको खोजीका लागि अस्पताल पुगेकाहरूको नाम र विवरण सङ्कलन गरिरहेको छ । अस्पतालमा बिरामी थपिदै जाँदा बाहिर बसेका प्रहरीलाई मोबाइलमा अस्पतालमा डिउटीमा रहेका स्वास्थ्यकर्मीले नामसहितको विवरण पठाउने र प्रहरीले पेपरमा टिप्ने गरेको दृश्य ट्रमा सेन्टरमा देखिन्छ ।
त्रिवि शिक्षण अस्पतालसँगै राष्ट्रिय ट्रमा सेन्टरमा समेत बाढीबाट घाइतेको उपचार भइरहेको छ । वीर अस्पताल, नर्भिक अस्पताल, काठमाडौँ मेडिकल कलेज, ग्रान्डी अस्पताललगायतका अस्पतालमा पनि घाइते तथा बिरामी आउने क्रम बढिरहेको छ ।
विपत्तिको सम्भावित चापलाई ध्यानमा राख्दै अस्पतालहरूले आफ्ना आकस्मिक सेवा तथा जनशक्तिलाई ‘अलर्ट’ अवस्थामा राखेका छन् । चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखिएको छ भने केही स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा पुगेर प्रत्यक्ष उपचार तथा स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।
बागमती प्रदेश सरकारले बाढीमा घाइते भएकाहरूको प्रदेशअन्तर्गतका प्रादेशिक अस्पतालमा निःशुल्क उपचार गर्ने जनाएको छ । प्रधानमन्त्री बालेन शाहले देशले अकल्पनीय विपत्तिको सामना गरिरहेको भन्दै सरकारको सम्पूर्ण संयन्त्र उद्धार तथा राहतमा परिचालन गरिएको बताउनुभएको छ । प्रधानमन्त्रीका अनुसार बिहान ६ः३० बजेदेखि उद्धारका लागि हवाई उडान सुरु गरिएको थियो । उद्धारका लागि थप हेलिकोप्टर तयारी अवस्थामा राखिएको र प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री पु¥याउने काम भइरहेको उहाले बताउनुभयो ।
प्रभावित क्षेत्रमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट तथा फलाम–ढुंगा काट्ने मेसिनलगायत सामग्री पठाउने काम भइरहेको छ ।
मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङका लागि अस्थायी व्यवस्था मिलाउने तयारी पनि भइरहेको प्रधानमन्त्रीले बताउनुभएको छ । यही अवस्थालाई ध्यानमा राखी स्वास्थ्य मन्त्रालयले डिजिटल समन्वय संयन्त्र बनाएको जनाएको छ । विपद्को समयमा स्वास्थ्य सेवा लिन र दिन सहज होस् भनेर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले डिजिटल माध्यमबाट स्वास्थ्य सहयोग समन्वय गर्ने व्यवस्था मिलाएको छ । नुवाकोटमा अस्थायी शिविर तयार गरी खाना र पानीको व्यवस्था गरिएको छ ।
विपद्बाट प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रभावित हुन नदिन अत्यावश्यक औषधी तथा स्वास्थ्य सामग्रीको नियमित र निर्बाध आपूर्ति सुनिश्चित गर्न नेपाल औषधी उत्पादक संघ (एपोन)ले सरकारसँग आग्रह गरेको छ ।











प्रतिक्रिया