काठमाडौँ।
रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयलाई नेपाली सेनाले उद्धार गरेको छ ।
प्रतिकूल मौसम र बाढीको तीव्र बहावका बीच अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै नेपाली सेनाको उनीहरूलाई उद्धार गरेको जनाएको छ । सेनाले अझै पनि सोही टनेलमा फसेका १०० जनाभन्दा बढीलाई सुरक्षित बाहिर निकाल्न जुटेको स्पष्ट पारेको छ ।
सुरुङभित्रको जटिल र जोखिमपूर्ण उद्धार अभियानका लागि ‘नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर (त्रिशूली)’ बाट जमदार भक्तजन बस्नेतको कमाण्डमा रहेको सैन्य टोली अहोरात्र खटिएको छ ।
यसैगरी, बाढीको उच्च जोखिममा परेका रसुवाका अन्य विकट भूगोलमा पुगेर सेनाले उद्धारलाई निरन्तरता दिएको छ । सिक्युआरटी धुन्चे ब्यारेक (रसुवा) बाट सहसेनानी अभिषेक शाहीको कमाण्डमा खटिएको टोलीले स्याफ्रुबेँसी, टिमुरे, मैलुङ्ग, ठूलो हाकु र हाकुबेँसीका विभिन्न स्थानबाट थप ५३३ जना नागरिकलाई सुरक्षित स्थानमा सारेको छ ।
उच्च साहस, तदारुकता र समर्पण प्रदर्शन गर्दै नेपाली सेनाले बिहीबार अबेरसम्म रसुवाका यी विभिन्न प्रभावित क्षेत्रबाट कुल ८८३ जना स्थानीय तथा मजदुरको उद्धार गरी ठूलो मानवीय क्षति हुनबाट जोगाएको जनाएको छ ।











प्रतिक्रिया