चितवन ।
चितवन क्षेत्रमा बाढीपहिरोमा परी बेपत्ता भएकामध्ये हालसम्म १३७ जनाको शव फेला परेको छ। रसुवा क्षेत्रमा आएको बाढीपहिरोपछि भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा बगाएर ल्याएका शव चितवनका विभिन्न स्थानमा भेटिएका हुन्।
फेला परेका शवको व्यवस्थापन तथा पहिचानका लागि जिल्ला प्रशासन कार्यालय चितवनले विशेष व्यवस्था गरेको छ। नारायणी नदी किनार, भरतपुर आसपास तथा अन्य क्षेत्रमा शव भेटिने क्रम जारी रहेको प्रहरीले जनाएको छ। खोजी तथा उद्धार टोलीले नदी किनार र आसपासका क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिइरहेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार फेला परेका शवमध्ये कतिपयको अवस्था अत्यन्त क्षतविक्षत रहेकाले पहिचानमा समस्या भएको छ। बाढीको तीव्र बहावले शवका शरीरका विभिन्न भागमा गम्भीर क्षति पुगेको र कतिपय शवको टाउकोसमेत नभेटिएको प्रहरीले जनाएको छ।
फेला परेका शवलाई सुरुमा भरतपुर अस्पतालको शवगृहमा ल्याएर सरसफाइ गर्ने, ट्याग लगाउने र बडी ब्यागमा राख्ने व्यवस्था गरिएको छ। त्यसपछि पहिचानका लागि विशेष चिस्यानयुक्त कक्षमा सुरक्षित राख्ने तयारी गरिएको प्रशासनले जनाएको छ।
शवको संख्या बढ्दै गएपछि भरतपुर अस्पताललगायत जिल्लाका स्वास्थ्य संस्थामा रहेको शव व्यवस्थापन क्षमता अपुग भएको छ। अस्पतालको शवगृहमा क्षमताभन्दा बढी शव राख्नुपर्ने अवस्था आएपछि प्रशासनले थप स्थानको व्यवस्था गरेको हो।
शव पहिचानका लागि आफन्तलाई समेत बोलाइएको छ। हराइरहेका परिवारका सदस्यको खोजीमा आफन्तहरू अस्पताल तथा पहिचान केन्द्रमा पुगिरहेका छन्। सम्भावित पहिचानका लागि मृतकका आफन्तबाट आवश्यक विवरण, तस्बिर तथा अन्य पहिचान खुल्ने सामग्री संकलन गर्ने काम भइरहेको छ।
प्रहरीका अनुसार पहिचान हुन नसकेका शवलाई आवश्यक प्रक्रिया पूरा गरी सुरक्षित राखिनेछ। बाढीले ठूलो मानवीय क्षति पुर्याएको र अझै केही व्यक्ति बेपत्ता रहेकाले नदी किनार तथा सम्भावित क्षेत्रमा खोजी कार्यलाई तीव्रता दिइएको छ।











प्रतिक्रिया