काठमाडौं ।
रसुवामा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ। नेपाली सेनाका अनुसार भाद्र ११ गते बिहानदेखि हालसम्म टिमुरे, स्याफ्रुवेशी, धुन्चे तथा मैलुङ क्षेत्रबाट ५० विदेशी नागरिकसहित ६०२ जनाको हवाई उद्धार गरिएको छ।
त्यसैगरी, प्रभावित क्षेत्रबाट थप २०० जनाको जमिनीमार्फत उद्धार गरिएको सेनाले जनाएको छ।
बाढी तथा पहिरोका कारण घाइते भएकाहरूको उपचारका लागि वीरेन्द्र अस्पतालबाट चिकित्सक अधिकृतसहितको मेडिकल टोली परिचालन गरिएको छ। त्रिशूलीमा स्थापना गरिएको आपत्कालीन उपचार केन्द्रमार्फत हालसम्म ३३८ जना घाइतेलाई उपचार प्रदान गरिएको छ।
खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाले ड्रोन र सैनिक डग समेत परिचालन गरेको छ। सेनाका अनुसार बाढी प्रभावित क्षेत्रमा ४ हजार २ सयभन्दा बढी सैनिक जनशक्ति समन्वयात्मक रूपमा परिचालन गरिएको छ।
परिचालित टोलीले घाइते तथा प्रभावित नागरिकको खोज तथा उद्धारसँगै आपत्कालीन उपचार र राहत सामग्री वितरणको कामसमेत गरिरहेको छ।
यसैबीच, बाढी र पहिरोका कारण धादिङस्थित पृथ्वी राजमार्गमा थुप्रिएको लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कार्यमा समेत नेपाली सेना परिचालित भएको छ।
सेनाले प्रभावित क्षेत्रको अवस्थाअनुसार खोज तथा उद्धार, उपचार, राहत र सडक खुलाउने कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।













प्रतिक्रिया