चितवन ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा मिसिएर आएको बाढीमा परी मृत्यु भएकाहरूको शव संकलन हुन थालेसँगै आफन्तहरू भरतपुर अस्पताल पुगेर आफ्ना बेपत्ता परिवारजनको खोजी गर्न थालेका छन्।
बाढीपहिरो प्रभावित रसुवा क्षेत्रमा काम तथा रोजगारीका सिलसिलामा गएका आफन्तहरू लामो समयदेखि सम्पर्कविहीन भएपछि परिवारजनहरू भरतपुर अस्पतालको शवगृहमा पुगेर शव हेर्न थालेका हुन्। आफन्तको अवस्था यकिन नभएपछि कतै बाढीमा परेर मृत्यु भएकामध्ये आफ्नो मान्छे पनि परेको हो कि भन्ने आशंकामा उनीहरू अस्पताल पुग्ने गरेका छन्।
हाल भरतपुर अस्पतालको शवगृहमा बाढीले बगाएर ल्याएका ६७ वटा शव राखिएको अस्पतालले जनाएको छ। शवको पहिचान र आफन्तलाई बुझाउने प्रक्रिया अघि बढाइएको छ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेका अनुसार रसुवाको बाढी प्रभावित क्षेत्रमा जागिर तथा अन्य कामका लागि गएका कतिपय व्यक्ति सम्पर्कमा नआएपछि उनीहरूका आफन्त शव हेर्न र अवस्था बुझ्न अस्पताल आउन थालेका हुन्।
“रसुवामा काम तथा रोजगारीका लागि गएका आफन्त सम्पर्कमा नआएपछि परिवारजनहरू आफ्नो मान्छे कतै बाढीमा परेका छन् कि भनेर बुझ्न अस्पताल आउन थालेका छन्,” डा. बगालेले भने।
त्रिशूली र नारायणी नदीमा बाढीले बगाएर ल्याएका शव चितवनका विभिन्न स्थानमा भेटिने क्रम बढेसँगै शव व्यवस्थापन तथा पहिचानको चुनौतीसमेत थपिएको छ। प्रशासन र सुरक्षा निकायले नदी किनार तथा विभिन्न स्थानबाट शव संकलन गरी भरतपुर अस्पतालमा ल्याउने गरेका छन्।













प्रतिक्रिया