रसुवाको बाढी–पहिरो भूकम्पपछि आएको हिमपहिरोका कारण : चिनियाँ राजदूत


काठमाडौं । 

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवामा आएको भीषण बाढी र पहिरो नेपालतर्फ गएको भूकम्पपछि आएको हिमपहिरो र लेदोसहितको बाढीका कारण सिर्जना भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन्।

एनटिभी वर्ल्डसँगको अन्तर्वार्तामा राजदूत चाङले विपद्का कारण केरुङ–रसुवागढी सीमा क्षेत्रको नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय क्षति भएको र धेरै मानिस बेपत्ता भएको जानकारी दिए।

चिनियाँ राष्ट्रपति सी चिनफिङले बेपत्ताको खोजी तथा उद्धार, जोखिममा परेकाको सुरक्षित स्थानान्तरण र घाइतेको तत्काल उपचार गर्न निर्देशन दिएको राजदूतले बताए। चीनले नेपाललाई आपत्कालीन राहत सामग्री र नगद सहयोग उपलब्ध गराउन समन्वय सुरु गरिसकेको पनि उनले जानकारी दिए।

विपद् न्यूनीकरणका लागि नेपाल–चीनबीच पूर्वसूचना तथा सूचना आदानप्रदान, आपत्कालीन उद्धारमा समन्वय र क्षमता अभिवृद्धिमा सहकार्य आवश्यक रहेको राजदूत चाङको भनाइ छ। उनले संकटको घडीमा नेपाललाई हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता पनि दोहोर्‍याएका छन्।

Skip This