बाढी प्रभावित नुवाकोटमा वैकल्पिक लाइनबाट विद्युत् सुचारु


काठमाडौं ।

 भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा पुनः सुचारु गरेको छ।

खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या र विदुरलगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार चपली–देवीघाट ६६ केभी र बालाजु–त्रिशूली ६६ केभी लाइनलाई ११ केभीमा चार्ज गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। आवश्यक प्राविधिक काम पूरा गरी साँझसम्म थप क्षेत्रमा विद्युत् सेवा सुचारु गर्ने प्रयास भइरहेको छ।

त्रिशूली क्षेत्रका केही स्थानमा धादिङको सल्यानटार सबस्टेसनबाट समेत वैकल्पिक आपूर्ति व्यवस्था मिलाइएको छ। बाढीबाट क्षतिग्रस्त संरचनाको मर्मत तथा वैकल्पिक प्रणालीबाट विद्युत् आपूर्ति गर्न प्राधिकरणले दक्ष प्राविधिक टोली परिचालन गरेको जनाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको निर्देशनपछि प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको नेतृत्वमा उच्चस्तरीय टोली प्रभावित क्षेत्रमा खटिएको छ। टोलीले क्षतिग्रस्त संरचनाको निरीक्षण, मर्मत र वैकल्पिक आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ।

Skip This