काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपत्तिको सामना गर्न सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने बताएका छन्।
सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा बोल्दै प्रचण्डले रसुवाको भोटेकोशी बाढीलाई सामान्य प्राकृतिक विपत्तिका रूपमा मात्र लिन नहुने बताए। उनले जलवायु परिवर्तन, हिमाली क्षेत्रमा बढ्दो जोखिम र बदलिँदो प्राकृतिक अवस्थालाई ध्यानमा राख्दै दीर्घकालीन जोखिम न्यूनीकरणका लागि राष्ट्रिय रणनीति बनाउनुपर्नेमा जोड दिए।
उनले तत्कालको प्राथमिकता खोजी, उद्धार, उपचार र राहत भएको भन्दै सरकार, राजनीतिक दल तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र साझा कार्ययोजना आवश्यक रहेको बताए।
प्रचण्डले छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गरी पूर्वसूचना प्रणालीलाई बलियो बनाउनुपर्ने र हिमाली मुलुकले जलवायु न्याय, क्षतिपूर्ति तथा अन्तर्राष्ट्रिय सहयोगको मुद्दा सशक्त रूपमा उठाउनुपर्ने बताए।
विपत्तिका बेला राजनीतिक मतभेदलाई थाती राखेर राष्ट्रिय एकताका साथ अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले सरकारलाई आफ्नो पार्टीको पूर्ण साथ र सहयोग रहने बताए। उनले भने, “विपत्तिमा कोही एक्लो नहोस्, उद्धार र राहतमा कुनै ढिलाइ नहोस् र राज्यको पहुँचबाट कुनै नागरिक बाहिर नपरोस्।”














प्रतिक्रिया