काठमाडौं ।
रसुवामा आएको विनाशकारी आकस्मिक बाढीबाट भएको जनधनको क्षतिप्रति संयुक्त राज्य अमेरिकाले गहिरो दुःख व्यक्त गर्दै नेपाललाई आपत्कालीन सहयोग घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको कार्यालयद्वारा जारी विज्ञप्तिमा बाढीमा परी ज्यान गुमाउनेका परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त गर्दै विपद्को यस घडीमा अमेरिका नेपालसँगै रहेको उल्लेख गरिएको छ।
अमेरिकी सरकारले बाढी प्रभावित समुदायको तत्काल सहयोगका लागि ५ लाख अमेरिकी डलर (करिब ६ करोड ६० लाख रुपैयाँभन्दा बढी) उपलब्ध गराउने घोषणा गरेको छ। उक्त रकम क्याथोलिक रिलिफ सर्भिसेज मार्फत आपत्कालीन आवास, राहत सामग्री, खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी सहयोगमा खर्च गरिनेछ।
यसैगरी, बाढीपछिको अवस्थाको अनुगमन तथा राहत र पुनर्स्थापनाका प्रयासमा सहयोग पुर्याउन अमेरिकी सरकारले ‘विपद् प्रतिकार्य सल्लाहकार’ समेत प्रभावित क्षेत्रमा खटाउने जनाएको छ। काठमाडौँस्थित अमेरिकी दूतावासले बाढी प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकहरूको सुरक्षाका लागि स्थानीय अधिकारीहरूसँग निकट समन्वय गरिरहेको जनाएको छ। अमेरिकी सहयोग घोषणा भएसँगै रसुवा बाढीपछि नेपाललाई अन्तर्राष्ट्रियस्तरबाट प्राप्त हुने मानवीय सहयोगमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।














प्रतिक्रिया