पृथ्वी राजमार्ग आज दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी


काठमाडौं । बाढीका कारण अवरुद्ध काठमाडौं–मुग्लिन जोड्ने पृथ्वी राजमार्ग आज (बिहीबार) दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेका अनुसार बैरेनीदेखि गलौंदीसम्मको करिब १३ किलोमिटर सडकका विभिन्न स्थानमा बाढीले थुपारेको लेदो हटाउने काम भइरहेको छ।

लेदो पन्छाउन गएरातिदेखि १५ वटा उपकरण परिचालन गरिएको छ। राति पानी परेपछि केही समय काम रोकिए पनि बिहीबार बिहानैदेखि पुनः काम तीव्र पारिएको छ।

मुग्लिनदेखि गलौंदी र काठमाडौंँदेखि बैरेनीसम्मको सडक भने सञ्चालनयोग्य रहेको विभागले जनाएको छ। विशेष अवस्था नआए आज दिउँसोसम्म राजमार्ग सञ्चालनमा ल्याउने लक्ष्य रहेको प्रवक्ता न्यौपानेले बताए।

बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा क्षति पुगेको थियो।

Skip This