विश्व बैंकदेखि भारत–चीनसम्मको सहयोग


काठमाडौँ ।

लेन्दे खोलामा आएको आकस्मिक बाढी भोटेकोशी हुँदै त्रिशूली नदीमा मिसिएपछि रसुवा, नुवाकोट र धादिङका तटीय क्षेत्रमा भएको विनाशको वास्तविक तस्बीर अझै स्पष्ट हुन सकेको छैन । बाढीले बस्ती, सडक, पुल, जलविद्युत् आयोजना, सञ्चार तथा अन्य पूर्वाधारमा ठूलो क्षति पु¥याए पनि क्षतिको प्रारम्भिक विवरणसमेत पूर्ण रूपमा सङ्कलन हुन सकेको छैन ।

विभिन्न स्थानबाट शव फेला पर्ने क्रम जारी छ । स्थानीय तह तथा विभिन्न स्रोतबाट ८३ जनाको शव फेला परेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक र बेपत्ताको सङ्ख्या अझै बढ्न सक्ने देखिएको छ ।

बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद हुनु, सडक तथा पुल बग्नु र भौगोलिक विकटताका कारण उद्धार टोलीलाई घटनास्थलसम्म पुग्नै कठिन भएको छ । कतिपय क्षेत्रमा उद्धारका लागि स्थानीय बासिन्दाले गरेको चित्कारसमेत तत्काल सम्बोधन गर्न नसकिएको अवस्था छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिए पनि व्यापक क्षति र कठिन भूगोलका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ ।

नेपाली सेनाले मात्रै १४ हेलिकोप्टर परिचालन गरी खोज तथा उद्धार गरिरहेको र ९७ जनालाई सुरक्षित स्थानमा ल्याइसकेको जनाएको छ ।
बाढीको असर भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रका बस्तीमा सबैभन्दा बढी परेको छ । कतिपय बस्ती पूर्णरूपमा बगाएका छन् भने बजार, भन्सार, पुल, सडक र जलविद्युत् आयोजनामा समेत व्यापक क्षति पुगेको छ । नुवाकोट र धादिङतर्फ पनि नदी किनारका बस्ती तथा पूर्वाधारमा ठूलो क्षति पुगेको छ

यसैबीच, बाढीबाट प्रभावित नेपाललाई अन्तर्राष्ट्रिय सहयोग जुट्न थालेको छ । विश्व बैंकले तत्कालका लागि २५ अर्ब रुपैयाँसम्मको आपत्कालीन सहायता विभिन्न स्रोतबाट परिचालन गर्न सकिने जानकारी नेपाल सरकारलाई गराएको छ । विश्व बैंकका नेपाल निर्देशक डेभिड सिस्लेनले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग सम्पर्क गरी उक्त सहयोगबारे जानकारी गराउनुभएको हो ।

छिमेकी मुलुक चीन र भारतले पनि मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । चीनले तत्काल नगद सहयोग उपलब्ध गराउने तयारी गरेको छ भने भारतले उद्धार तथा राहतका लागि आवश्यक सामग्रीको सूची उपलब्ध गराउन नेपाल सरकारलाई आग्रह गरेको छ ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद गरी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । मोदीले कठिन अवस्थामा भारतका जनता नेपाली नागरिकसँग ऐक्यबद्ध रहेको बताउँदै भारत सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार रहेको बताउनुभएको छ ।

भारतीय अधिकारीहरूले नेपाली अधिकारीसँग उद्धार तथा राहतका विषयमा समन्वय गरिरहेको जानकारी पनि मोदीले दिनुभएको छ । प्रधानमन्त्री शाहले पनि बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई व्यापक रूपमा परिचालित हुन निर्देशन दिनुभएको छ । सरकारका सबै सम्बन्धित संयन्त्रलाई खोज, उद्धार, उपचार तथा राहतमा केन्द्रित हुन निर्देशन दिइएको छ । घाइतेको सरकारी अस्पताल तथा अन्य सरकारी स्वास्थ्य संरचनामार्फत निःशुल्क उपचार गर्ने निर्णयसमेत सरकारले गरेको छ ।

बाढीको कारणबारे प्रारम्भिक अध्ययनले लेन्दे खोला क्षेत्रमा हिमपहिरो आएर खोला थुनिएपछि पानी एक्कासि खुलेको हुनसक्ने देखाएको छ । वैज्ञानिक तथा विज्ञहरूले यो प्रारम्भिक आँकलन भएको र घटनाको वास्तविक कारणबारे थप अध्ययन आवश्यक रहेको बताएका छन् ।
तर अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको बेपत्ताको यकिन सङ्ख्या र क्षतिको वास्तविक विवरण पत्ता लगाउनु हो । सञ्चार सम्पर्क र सडक सञ्जाल अवरुद्ध भएकाले प्रभावित क्षेत्रबाट सूचना सङ्कलनमै समस्या भइरहेको छ । त्यसैले अहिले सार्वजनिक भइरहेका मृतक, बेपत्ता र क्षतिको विवरणलाई प्रारम्भिक मान्दै खोज तथा उद्धार पूरा भएपछि मात्र विपद्को वास्तविक मानवीय र भौतिक क्षतिको तस्बीर स्पष्ट हुने देखिन्छ ।

यसबीच लेन्दे खोला क्षेत्रमा थप पानी जम्मा भएर पुनः ठूलो बाढी आउन सक्ने जोखिमबारे समेत सतर्क गराइएको छ । भोटेकोशी–त्रिशूली तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान र नदी किनारमा नजान आग्रह गरिएको छ । बाढीले एकातिर ठूलो मानवीय सङ्कट निम्त्याएको छ भने अर्कोतर्फ सडक, पुल, ऊर्जा र सञ्चार संरचनामा पु¥याएको क्षतिले पुनःस्थापना र पुनर्निर्माणमा सरकारसामु ठूलो आर्थिक तथा प्रशासनिक चुनौती खडा गरेको छ ।

Skip This