काठमाडौँ ।
रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार बाढीका कारण त्रिशूली नदी बेसिनमा सञ्चालित प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रका गरी १२ वटा विद्युत् उत्पादन केन्द्र बन्द हुँदा कुल ४३१.१ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको छ । प्रभावित आयोजनामा रसुवागढी जलविद्युत् आयोजना १११ मेगावाट, सालासुङ्गी (साञ्जेन) ७८ मेगावाट, माथिल्लो साञ्जेन १४.८ मेगावाट, साञ्जेन ४२.५ मेगावाट, चिलिमे ५२ मेगावाट, लाङटाङ २० मेगावाट, माथिल्लो त्रिशूली–३ ‘ए’ ६० मेगावाट, माथिल्लो मेलुङ १४.८ मेगावाट, मेलुङ ५ मेगावाट, त्रिशूली जलविद्युत् केन्द्र २४ मेगावाट, देवीघाट जलविद्युत् केन्द्र १४ मेगावाट र नेपाल विद्युत् प्राधिकरणको सोलार आयोजना २५ मेगावाट रहेका छन् ।
त्यसैगरी, प्राधिकरणका सहायक कम्पनी तथा निजी प्रवद्र्धकबाट निर्माणाधीन कुल ४७० मेगावाट क्षमताका १५ आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । बाढीका कारण विद्युत् आयोजनामा कार्यरत १९६ जनाभन्दा कर्मचारी तथा कामदारसमेत सम्पर्कविहीन भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार त्रिशूली जलविद्युत् कम्पनीको निर्माणाधीन त्रिशूली–३ ‘बी’ आयोजनाको साइटमा कार्यरत २१ जना कर्मचारी सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । चिलिमे जलविद्युत् कम्पनीको चिलिमे जलविद्युत् केन्द्रको पावरहाउस क्षेत्रमा रहेका ६ जना तथा आवास क्षेत्रमा रहेका १ जना पनि सम्पर्कविहीन छन् ।
त्यस्तै, चिलिमे जलविद्युत् कम्पनीअन्तर्गत चेस्को कम्पनीबाट खटिई त्रिशूली जलविद्युत् कम्पनीबाट निर्माणाधीन त्रिशूली–३ ‘बी’ आयोजनाको साइटमा कार्यरत ११ जना, रसुवागढी जलविद्युत् केन्द्रमा कार्यरत ९२ जना, त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रको पावरहाउस मर्मतमा संलग्न ४५ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । प्राधिकरणका त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रमा कार्यरत दुई जना कर्मचारी पनि सम्पर्कबाहिर छन् ।
रसुवा वितरण केन्द्रमा रहेका दुई कर्मचारी तथा धादिङको त्रिशूली २२० केभी सबस्टेसनमा ठेकेदारमार्फत कार्यरत १६ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । बाढीका कारण रसुवा र आंशिक रूपमा नुवाकोट, धादिङ तथा गोरखा जिल्लामा विद्युत् आपूर्ति पूर्ण वा आंशिकरूपमा अवरुद्ध भएको छ । धादिङको जहरेस्थित ३३ केभी सबस्टेसनमा करिब ५ फिट लेदो जमेपछि डोजर प्रयोग गरी सफाइ भइरहेको छ । विभिन्न स्थानका ११ केभी पोल तथा ट्रान्सफर्मरमा समेत क्षति पुगेको छ ।
प्रसारणतर्फ त्रिशूलीस्थित २२० केभी ‘हब’ सबस्टेसनमा पूर्ण क्षति पुगेको छ भने चिलिमे २२० केभी ‘हब’ टावर अवरुद्ध हुँदा बन्द भएको छ । समुद्रटार–त्रिशूली १३२ केभी प्रसारण लाइन, चिलिमे–त्रिशूली ६६ केभी प्रसारण लाइन, चिलिमे ‘हब’–त्रिशूली–३ ‘बी’ ‘हब’–मातातीर्थ २२० केभी प्रसारण लाइन तथा त्रिशूली–बालाजु ६६ केभी प्रसारण लाइनसमेत अवरुद्ध भएको छ । केही प्रसारण लाइनका टावरमा पनि समस्या देखिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सम्बन्धित निकायसँग समन्वय गरी काम अघि बढाइरहेको जनाएको छ । प्रभावित क्षेत्रमा फसेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्न छुट्टाछुट्टै टोली परिचालन गरिएको छ ।
सम्पर्कविहीन कर्मचारी तथा कामदारसँग सम्पर्क स्थापित गर्न स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।
साथै, वैकल्पिक माध्यमबाट विद्युत् प्रणाली सञ्चालन गर्न सकिने स्थान पहिचान गरी आंशिक क्षेत्रमा विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको छ । प्राधिकरणले सिन्धुपाल्चोकको समुद्रटार क्षेत्रमा प्रणाली चालु गरी चौघोडा सबस्टेशन सञ्चालनको तयारी भइरहेको छ । गजुरीदेखि गल्छीसम्मका क्षेत्रमा धादिङबेँसी सबस्टेसनमार्फत विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको छ ।
सम्भव भएका स्थानमा पेट्रोलिङ तथा मर्मत गरी प्रसारण लाइन सुचारु गर्ने काम पनि भइरहेको छ । विद्युत् प्रणाली सञ्चालन विभाग, ग्रिड सञ्चालन विभाग र सम्बन्धित वितरण केन्द्रलाई आवश्यक निर्देशन दिइएको तथा ती कार्यालयहरू प्रणाली सुचारु गराउन सक्रिय रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सम्बन्धित कर्मचारी तथा सर्वसाधारणलाई स्थानीय प्रशासन, सुरक्षा निकाय र प्राधिकरणबाट जारी निर्देशन पालना गर्न तथा आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गरेको छ ।
विद्युत प्रणाली सन्तुलनमा
बाढीका कारण देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रभावित भएको छ । बाढीबाट विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेपछि विद्युत् आपूर्तिमा हुन सक्ने असन्तुलनलाई ध्यानमा राख्दै नेपाल विद्युत् प्राधिकरणले माग र आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बताउनुभएको छ ।
मन्त्री श्रेष्ठका अनुसार हालसम्म विद्युत् प्रणालीलाई सन्तुलित राख्न प्राधिकरण सफल भए पनि बाढीबाट भएको ठूलो क्षतिका कारण आगामी दिनमा थप चुनौती आउन सक्ने भएकाले आवश्यक तयारी र व्यवस्थापनलाई तीव्र बनाइएको छ ।
प्रारम्भिक विवरणअनुसार बाढीका कारण ४३१.१ मेगावाट क्षमताका १२ वटा विद्युत् उत्पादन केन्द्र बन्द भई विद्युत् प्रणालीबाट बाहिरिएका छन् । त्यस्तै, निर्माणाधीन १५ वटा जलविद्युत् आयोजनामा कुल ४७० मेगावाट क्षमतामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको मन्त्री श्रेष्ठले जानकारी दिनुभएको छ । प्रसारणतर्फ त्रिशूली २२० केभी ३ बी हब सबस्टेशन पूर्णरूपमा क्षतिग्रस्त भएको छ । विभिन्न १३२, ६६ तथा २२० केभी प्रसारण लाइन र टावरमा समेत क्षति पुगेको छ ।
बाढीका कारण रसुवामा विद्युत् आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको छ भने नुवाकोट, धादिङ र गोरखाका विभिन्न क्षेत्रमा आंशिक रूपमा विद्युत् सेवा प्रभावित भएको छ । मन्त्री श्रेष्ठका अनुसार विभिन्न विद्युत् आयोजना तथा संरचनामा कार्यरत १९६ जनाभन्दा बढी कर्मचारी तथा मजदूर सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ । उनीहरूको खोज तथा उद्धार कार्य जारी रहेको छ ।
उद्धार तथा विद्युत् सेवा पुनःस्थापनाका लागि नेपाल विद्युत् प्राधिकरणका १५ वटाभन्दा बढी सवारीसाधन प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । थप उद्धार तथा प्राविधिक टोलीसमेत प्रभावित क्षेत्रमा खटाइएको मन्त्री श्रेष्ठले बताउनुभएको छ । वैकल्पिक व्यवस्थामार्फत विद्युत् आपूर्ति सुचारु गर्ने, क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापना गर्ने र सम्पर्कविहीन कर्मचारी तथा मजदूरको खोजी तथा उद्धार गर्ने काम स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँगको समन्वयमा भइरहेको छ ।
मन्त्री श्रेष्ठले अहिले मानवीय सुरक्षा, खोज तथा उद्धार र अत्यावश्यक विद्युत् सेवा पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । क्षतिको विस्तृत विवरण संकलन तथा प्राविधिक मूल्यांकनको कामसमेत भइरहेको उहाँले जानकारी दिनुभयो ।
‘अहिलेसम्म विद्युत् प्रणालीलाई सन्तुलित राख्न सफल भएका छौँ । तर, यति ठूलो क्षतिका कारण आगामी दिनमा थप चुनौती आउन सक्ने भएकाले आवश्यक तयारी र व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको छ’ –मन्त्री श्रेष्ठले भन्नुभयो ।














प्रतिक्रिया