सयौँ सम्पर्कविहीन, क्षतिको यकिन विवरण आउनै कठिन

0
Shares

काठमाडौँ ।

चीनको तिब्बततर्फ लेन्दे खोला क्षेत्रमा आएको हिमपहिरोपछि बनेको ताल फुट्दा भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले रसुवा, नुवाकोट र धादिङमा अकल्पनीय मानवीय तथा भौतिक क्षति पु¥याएको छ । बुधवार बिहान करिब साढे ८ बजे आएको बाढीले तटीय बस्ती, सडक, पुल, जलविद्युत् आयोजना, सुरक्षा चौकी, भन्सार तथा अन्य पूर्वाधारमा ठूलो क्षति पु¥याएको हो ।

बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा सम्पर्कविहीन हुनेको संख्या लगभग ५ हजारको हाराहारीमा रहेको सुरक्षास्रोतले जानकारी दिएको छ । बाढीबाट रसुवागढी, टिमुरे, स्याफ्रुबेँसी, वेत्रावती, त्रिशूली र देवीघाट बजार लगभग पूर्णरुपमा क्षति भएको छ । तटीय क्षेत्रमा पर्ने दर्जन बढी बस्ती डुबानमा परेका छन् । नुवाकोट र रसुवाको अवस्था कस्तो छ भन्ने विवरण आधिकारिक रुपमा पुष्टि हुन सकेको छैन ।

सरकारले उद्धारमा तत्परता देखाए पनि उद्धार सामग्रीको अभावका कारण सोचेजस्तो काम हुन सकेको छैन, जसले गर्दा पीडित नागरिकमा आक्रोश बढेको छ । विकट भौगोलिक बनावट र हवाई साधन घटनास्थलसम्म पुग्न नसक्नुले उद्धारमा कठिनाइ भएको छ ।
बाढीबाट भएको मानवीय क्षतिको पूर्ण विवरण अझै सङ्कलन हुन सकेको छैन । विभिन्न सरकारी तथा सरोकारवाला निकायबाट प्राप्त विवरणअनुसार ठूलो सङ्ख्यामा मानिस सम्पर्कविहीन छन् । नेपाल प्रहरीका २८, सशस्त्र प्रहरीका ९ र नेपाली सेनाका ४४ गरी ८१ जना सुरक्षाकर्मी सम्पर्कविहीन रहेको जनाइएको छ ।

त्यस्तै, नेपाल पर्यटन बोर्डको प्रारम्भिक विवरणअनुसार ३८४ जना पर्यटक तथा यात्रु सम्पर्कमा आउन बाँकी छन् । तीमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली छन् । बोर्डले उनीहरू बाढीमा बेपत्ता भएको पुष्टि भइनसकेको र सम्बन्धित ट्राभल एजेन्सी, गाइड, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी विवरण प्रमाणीकरण भइरहेको जनाएको छ ।

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत करिब ६० जना र नेपाल विद्युत् प्राधिकरणका ३५ जना कर्मचारी पनि सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण छ । यसबाहेक स्थानीय बासिन्दा, व्यवसायी तथा अन्य यात्रुको अवस्थाबारे पनि यकिन विवरण आउन सकेको छैन ।
बाढीले भोटेकोशीदेखि त्रिशूली नदीको तटीय क्षेत्रसम्म ठूलो विनाश गरेको छ । टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, बेत्रावती, त्रिशूली, देवीघाटलगायत क्षेत्र प्रभावित भएका छन् ।

टिमुरे र आसपासका बजार तथा रसुवागढी भन्सार क्षेत्रमै ठूलो क्षति पुगेको स्थानीय प्रशासनले जनाएको छ ।सडक विभागका अनुसार बाढीले हालसम्म कम्तीमा १९ वटा पुल र करिब ४० किलोमिटर सडकमा क्षति पु¥याएको छ । रसुवागढीदेखि धादिङतर्फको सडक सम्पर्क अवरुद्ध हुँदा उत्तरी रसुवासँगको यातायात सम्बन्ध गम्भीर रूपमा प्रभावित भएको छ । पछिल्लो विवरणअनुसार रसुवा, नुवाकोट र धादिङ क्षेत्रमा ११ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको र करिब ५ सय मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ ।

प्रत्यक्ष प्रभावित आयोजनामा रसुवागढी, सान्जेन, अपर सान्जेन, चिलिमे, लाङटाङ, अपर त्रिशूली–३ ए, अपर मैलुङ, मैलुङ, त्रिशूली र देवीघाटलगायत आयोजना छन् ।

बाढीले आधा दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाका कार्यालय, दूरसञ्चारका २५ भन्दा बढी साइट तथा अप्टिकल फाइबरमा समेत क्षति पु¥याएको छ । चीनसँग जोडिने दूरसञ्चार फाइबर लाइनमा क्षति पुगेपछि उत्तरी क्षेत्रमा सञ्चार सेवा प्रभावित भएको छ । रसुवा, धादिङ र नुवाकोटका विभिन्न स्थानमा रहेका ६ वटा बाढीपूर्वसूचना प्रणालीमा समेत क्षति पुगेको छ । यसले आगामी जोखिमको पूर्वसूचना प्रवाहमा थप चुनौती सिर्जना गरेको छ ।

नुवाकोटको विदुरस्थित केन्द्रीय कारागारको प्रशासनिक भवन तथा नेपाल प्रहरीको सुरक्षा एकाइमा पनि बाढीले क्षति पु¥याएको छ । बाहिरी पर्खाल तथा केही सवारीसाधनमा क्षति पुगे पनि करिब ८ सय कैदीबन्दी भने सुरक्षित रहेको जनाइएको छ ।
बाढीपछि सरकारले खोज, उद्धार, राहत, स्वास्थ्य तथा सुरक्षा व्यवस्थापनका लागि सम्पूर्ण सरकारी संयन्त्र परिचालन गरेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेर उद्धार तथा राहतलाई उच्च प्राथमिकता दिने निर्णय गरिएको छ ।

सरकारले प्रभावित क्षेत्रलाई थप जोखिमयुक्त क्षेत्रका रूपमा लिएर उद्धार कार्य तीव्र बनाएको छ । साथै छ जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दै उद्धार कार्यलाई सहज बनाउन आवश्यक विशेष व्यवस्था गरिएको छ ।

यता, चीनबाट प्राप्त सूचनाअनुसार लेन्दे खोला थुनिएको स्थानमा बनेको ताल अझै पूर्णरूपमा नखुलेको जनाइएको छ । यसकारण भोटेकोशी–त्रिशूली नदीको तटीय क्षेत्रमा थप बाढी आउन सक्ने जोखिम कायमै रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

अचानक आएको बाढी, भौगोलिक विकटता, सडक तथा पुलमा भएको क्षति र सञ्चार सम्पर्क विच्छेदका कारण प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको वास्तविक विवरण सङ्कलन गर्न कठिन भइरहेको छ । त्यसैले अहिले सार्वजनिक भएका मृतक, बेपत्ता र सम्पर्कविहीनको सङ्ख्या अझै बढ्न सक्ने सरकारी अधिकारीहरूको भनाइ छ ।

Skip This