रसुवाको बाढीले चितवनमा वितण्डा : नारायणगढ क्षेत्रमा ३७ सहित ५३ शव फेला

0
Shares

चितवन ।

रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको विनाशकारी बाढी त्रिशूली हुँदै चितवनसम्म आइपुग्दा जिल्लामा ठूलो मानवीय क्षतिको संकेत देखिएको छ। बाढीको बहाव तल्लो तटीय क्षेत्रमा पुगेसँगै नारायणी र त्रिशूली नदी आसपासका विभिन्न स्थानमा शव फेला पर्न थालेका छन्। बुधबार राति ८ः३० बजेसम्म चितवनमा मात्रै ५३ वटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभएको छ।

प्रहरीका अनुसार नारायणगढ आसपासका विभिन्न क्षेत्रबाट ३७ वटा शव फेला परेका छन् भने फिस्लिङदेखि मुग्लिनसम्मको क्षेत्रमा थप १६ वटा शव भेटिएका छन्। यससँगै चितवनमा बाढीले बगाएर ल्याएका ५३ वटा शव फेला परिसकेका छन्। फेला परेका शवमध्ये केहीको पहिचान खुल्न बाँकी रहेको छ। बाढीले माथिल्लो क्षेत्रमा ठूलो क्षति पुर्‍याएको र नदीको बहावसँगै मानवीय अवशेष तथा अन्य सामग्री तल्लो क्षेत्रमा बगाएर ल्याएको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक पौडेलले शव फेला पर्ने क्रम अझै जारी रहेको बताउनुभयो। बाढीको बहाव तीव्र रहेकाले थप शव भेटिन सक्ने सम्भावनालाई ध्यानमा राखेर सुरक्षा निकायलाई खोजी तथा उद्धारमा परिचालन गरिएको छ। फेला परेका शवलाई सुरक्षित रूपमा संकलन गरी पहिचान तथा व्यवस्थापनको प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो। “शव फेला पर्ने क्रम जारी छ, हामी शव व्यवस्थापनमा लागि परेका छौं,” उहाँले भन्नुभयो। निजी अस्पताल सँगसँग शवकाे व्यवस्थापन सरकारी अस्पतालमा पनि गरिने जानकारी गराइएकाे छ ।

रसुवाको माथिल्लो क्षेत्रमा आएको बाढी क्रमशः भोटेकोशी, त्रिशूली हुँदै चितवनतर्फ झरेपछि नदीको बहाव अत्यधिक बढेको हो। दिउँसो देवघाटस्थित जलमापन केन्द्रमा पानीको सतह ४.७६ मिटर पुगेको थियो। माथिल्लो क्षेत्रबाट आएको बाढीको बहाव थपिँदै गएपछि नारायणी र त्रिशूली नदी आसपासका क्षेत्रमा जोखिम बढेको थियो। नदीको बहाव बढ्दै जाँदा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानतर्फदद जान प्रशासनले आग्रह गरेको थियो।

बाढी चितवन प्रवेश गरेसँगै नदी किनार तथा आसपासका क्षेत्रमा प्रशासन र सुरक्षा निकायले उच्च सतर्कता अपनाएका छन्। जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विपद् व्यवस्थापनमा खटिएका टोली खोजी, उद्धार, शव संकलन र जोखिममा रहेका नागरिकको सुरक्षामा परिचालित भएका छन्। नदीको बहाव र तटीय क्षेत्रको अवस्थालाई निरन्तर निगरानीमा राखिएको छ।

बाढीको जोखिम बढेपछि देवघाटस्थित आश्रममा रहेका ज्येष्ठ नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार नदीको बहाव बढेपछि आश्रममा रहेका वृद्धवृद्धाको सुरक्षालाई प्राथमिकतामा राख्दै उनीहरूलाई जोखिममुक्त स्थानमा स्थानान्तरण गरिएको हो। जोखिमयुक्त क्षेत्रमा रहेका अन्य नागरिकको अवस्थासमेत प्रशासनले मूल्याङ्कन गरिरहेको छ।

यसैबीच नारायणी नदीमा आएको बाढीको अवस्था हेर्न बुधबार ठूलो संख्यामा सर्वसाधारण नदी किनारमा पुगेका थिए। बाढीको भयावह अवस्था हेर्न भीड बढेपछि प्रहरीले पटक–पटक नदी किनारबाट हट्न आग्रह गरेको थियो। तर कतिपय स्थानमा सर्वसाधारणले प्रहरीको आग्रह अटेर गरेका थिए। जोखिमपूर्ण अवस्थामा नदीको बहाव हेर्न भीड जम्मा हुँदा उद्धार तथा सुरक्षा व्यवस्थापनमा समेत कठिनाइ भएको सुरक्षा अधिकारीहरूले बताएका छन्।

बाढीले बगाएर ल्याएका काठ, दाउरा तथा अन्य सामग्री टिप्न खोज्नेहरू समेत नदी किनारमा पुगेका थिए। तीव्र बहावका बीच नदीमा बग्दै आएको ग्यास सिलिन्डर निकाल्न स्थानीयबीच लछाडमछाडसमेत भएको थियो। बाढीको बहाव अत्यन्त तीव्र रहेकाले बगाएर ल्याएका सामग्री संकलन गर्ने वा नदीमा पस्ने कार्य ज्यानकै जोखिम हुने भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत गराएको छ।

बाढीको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले नदी आसपासका अन्य सम्भावित जोखिमयुक्त क्षेत्रमा समेत निगरानी बढाएको छ। नदीको बहाव, तटीय बस्तीको अवस्था र सम्भावित जोखिमको मूल्याङ्कन गर्दै आवश्यक परे थप नागरिकलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो। उहाँका अनुसार अहिलेको प्राथमिकता मानवीय क्षति न्यूनीकरण, जोखिममा रहेका नागरिकको सुरक्षा र बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई प्रभावकारी बनाउनु रहेको छ।

यता जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ हुँदै काठमाडौं जाने सबै प्रकारका सवारीसाधनको आवागमन अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको छ। बुधबार जारी अत्यन्त जरुरी सूचनामा सडकमा देखिएको अवरोध तत्काल हटाउन केही समय लाग्ने जानकारी सम्बन्धित निकायबाट प्राप्त भएकाले यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै आवागमन बन्द गरिएको जनाइएको छ। बाढी, पहिरो तथा सडक अवरोधका कारण यात्रुहरू जोखिममा पर्न सक्ने भएकाले प्रशासनले अनावश्यक यात्रा नगर्नसमेत आग्रह गरेको छ।

बाढी तथा पहिरोको जोखिम अझै पूर्ण रूपमा नहटेको भन्दै प्रशासनले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। रातको समयमा नदीको बहाव थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ। नदीको बहाव सामान्य नहुँदासम्म किनारमा नजान, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष निगरानीमा राख्न र सुरक्षा निकायको निर्देशन पालना गर्न प्रशासनले आग्रह गरेको छ।

स्थानीय प्रशासन, प्रहरी तथा विपद् व्यवस्थापनका टोलीले सम्भावित जोखिम क्षेत्रको अनुगमन तथा उद्धार र खोजी कार्यलाई निरन्तरता दिएका छन्। बाढीका कारण बेपत्ता भएका व्यक्तिको खोजी तथा फेला परेका शवको पहिचान र व्यवस्थापनको कामसमेत भइरहेको प्रहरीले जनाएको छ। नदीमा बाढीको बहाव कायमै रहेकाले उद्धार तथा खोजी कार्यमा सुरक्षाकर्मीले थप सावधानी अपनाएका छन्।

प्रशासनले नदी वा बाढी प्रभावित क्षेत्रमा कुनै शव अथवा मानवीय अवशेष देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायलाई खबर गर्न सर्वसाधारणसँग आग्रह गरेको छ। फेला परेको शवलाई आफैं सार्ने वा पहिचान गर्ने प्रयास नगर्न र घटनास्थल सुरक्षित राख्नसमेत आग्रह गरिएको छ। बाढीको जोखिमका बेला नदी किनारमा भीड नगर्न, बगाएर ल्याएका सामग्री टिप्न नदीमा नपस्न तथा सुरक्षा निकायको निर्देशन पालना गर्न प्रशासनले अनुरोध गरेको छ।

Skip This