काठमाडौँ।
परराष्ट्रमन्त्री शिशिर खनालले रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा भएको क्षति, खोज तथा उद्धार कार्य तथा सरकारले गरिरहेको व्यवस्थाबारे प्रतिनिधि सभाको बैठकमा जानकारी गराउनुभएको छ।
मन्त्री खनालका अनुसार बाढीबाट प्रभावित क्षेत्रमा हालसम्म ९ जनाको शव फेला परेको छ। फेला परेका शवको सनाखत हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो। बुधबार बिहान ८ः४० बजे आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेसी तथा नुवाकोटको बेत्रावती, त्रिशूली, बट्टार, देवीघाटलगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
बाढीमा रसुवाका विभिन्न प्रहरी चौकीमा कार्यरत २६ जना प्रहरी र ९ जना सशस्त्र प्रहरी गरी ३५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। त्यस्तै, नेपाली सेनातर्फ टिमुरे र मैलुङ पोस्टमा कार्यरत ४४ जना पनि सम्पर्कविहीन रहेको मन्त्री खनालले बताउनुभयो। रसुवागढी भन्सार, अध्यागमन कार्यालयलगायतका केही कर्मचारी तथा प्रभावित क्षेत्रका नागरिकसमेत सम्पर्कविहीन रहेको उहाँले जानकारी दिनुभयो।
बाढीबाट सडक, पुल, जलविद्युत् तथा सञ्चार संरचनामा ठूलो क्षति पुगेको प्रारम्भिक आकलन गरिएको छ। सरकारी तथा निजी भवन र सम्पत्तिमा समेत क्षति पुगेको छ। नुवाकोटस्थित केन्द्रीय कारागार डुबानमा पर्दा तीनवटा सवारीसाधन बगेका छन्।
बाढीपछि भोटेकोशी तथा त्रिशूली नदीको तटीय क्षेत्रमा जोखिम बढेकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। सम्भावित जोखिमबारे नागरिकलाई रिङ ब्याक टोन, एसएमएस, माइकिङ तथा सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गरी सुरक्षित स्थानमा रहन आग्रह गरिएको मन्त्री खनालले बताउनुभयो।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बुधबार बिहान ११ बजे विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेर प्रभावित नागरिकको खोज, उद्धार तथा राहतलाई उच्च प्राथमिकता दिई तत्काल आवश्यक कदम चाल्न सम्बन्धित निकायलाई निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो। मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आकस्मिक बैठकमार्फत समेत खोज तथा उद्धार, सुरक्षा व्यवस्थापन, स्वास्थ्य सेवा र राहत परिचालनबारे समन्वय भइरहेको छ।
खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन रसुवा र नुवाकोटमा नेपाली सेना तथा निजी क्षेत्रका गरी १३ वटा हेलिकप्टर परिचालन गरिएको छ। आवश्यकता अनुसार थप हवाई तथा स्थल उद्धारका स्रोत परिचालन गरिने मन्त्री खनालले बताउनुभयो।
उद्धार गरिएका घाइतेको उपचारका लागि नुवाकोटस्थित जिल्ला अस्पतालमा नेपाली सेनाका १५, नेपाल प्रहरीका १२ र सशस्त्र प्रहरी बलका १५ जना थप चिकित्सकसहितको स्वास्थ्य टोली पठाइएको छ। गम्भीर प्रकृतिका घाइतेको उपचारका लागि ट्रमा सेन्टर, वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललगायत पाँचवटा स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राखिएको छ।
पृथ्वी राजमार्गको गल्छी खण्ड, नुवाकोट–रसुवाको स्याफ्रुबेसी सडक तथा मुग्लिङ–नारायणगढ सडकमा तत्काल यात्रा नगर्न र नगराउन सम्बन्धित स्थानीय तह, प्रशासन तथा सर्वसाधारणलाई आग्रह गरिएको छ। जोखिमयुक्त क्षेत्रमा यातायात तथा आवतजावतमा पूर्ण रोक लगाई नागरिकको जीवन सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको मन्त्री खनालले बताउनुभयो।
जोखिममा परेका, खोज तथा उद्धार आवश्यक भएका वा तत्काल सहायता आवश्यक पर्ने नागरिकका लागि सम्बन्धित जिल्लाको टोल फ्री नम्बर १२३४ मार्फत सूचना लिई उद्धार गर्ने व्यवस्था मिलाइएको छ।
सरकारले रसुवा र नुवाकोटका जिल्ला विपद् व्यवस्थापन कोषमा एक–एक करोड रुपैयाँ तथा धादिङको जिल्ला विपद् व्यवस्थापन कोषमा ५० लाख रुपैयाँ थप रकम निकासा गरेको छ।
मन्त्री खनालले सरकारको सम्पूर्ण ध्यान प्रभावित नागरिकको जीवन रक्षा, खोज तथा उद्धार, उपचार, राहत तथा सुरक्षित स्थानान्तरणमा केन्द्रित रहेको बताउनुभयो। उहाँले विपद्को यस घडीमा उद्धार, खोज तथा राहत कार्यमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभयो।
उहाँले घटनाको थप विवरण आवश्यकता अनुसार प्रतिनिधि सभालाई जानकारी गराइने बताउनुभयो।














प्रतिक्रिया