रसुवाको बाढीले विद्युत् संरचनामा क्षति, विद्युत् आपूर्ति प्रभावित


काठमाडौं ।

रसुवामा बुधबार आएको बाढीले नेपाल विद्युत् प्राधिकरणका विभिन्न जलविद्युत् आयोजना, प्रसारण तथा वितरण संरचनामा क्षति पुर्‍याएको छ। बाढीका कारण रसुवा र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ।

बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्र तथा त्रिशूली–३ ‘बी’ हबको २२० केभी सबस्टेसनमा क्षति पुगेको छ। त्रिशूली र देवीघाट जलविद्युत् केन्द्र तथा विभिन्न वितरण संरचनासमेत प्रभावित भएका छन्।

प्राधिकरणले विद्युत् आपूर्ति नियमित गर्न प्रयास भइरहेको जनाएको छ। बाढीबाट घर, सडक र पुललगायतका भौतिक पूर्वाधारमा समेत क्षति पुगेको प्रारम्भिक जानकारी दिँदै प्राधिकरणले क्षतिको विस्तृत विवरण संकलन भइरहेको जनाएको छ।

बाढीको जोखिम कायमै रहेकाले नदी तथा खोलाको आसपास र जोखिमयुक्त क्षेत्रमा रहेका सर्वसाधारण तथा कर्मचारीलाई उच्च सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ। साथै, आधिकारिक सूचनाबाहेकका अपुष्ट समाचार तथा अफवाहमा विश्वास नगर्न अनुरोध गरिएको छ।

Skip This