ल्हेन्दे खोलाको बाढी भोटेकोशी हुँदै त्रिशूलीमा, काठमाडौँबाट धादिङ–रसुवा–चितवन जाने सवारी रोकियो


काठमाडौँ ।

चीनको ल्हेन्दे खोलामा आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ आइरहेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौँबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधनमा रोक लगाइएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले बाढीका कारण सडक तथा नदी आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै नागढुंगा र भीमढुंगा नाका हुँदै बाहिरिने सवारीसाधनलाई रोकेको हो। ट्राफिक प्रहरीले यातायात व्यवसायीहरूलाई समेत उक्त नाका प्रयोग गरी धादिङ, रसुवा र चितवनतर्फ सार्वजनिक सवारीसाधन नपठाउन आग्रह गरेको छ। चीनको ल्हेन्दे खोलामा आएको बाढी भोटेकोशी नदी हुँदै तल्लो तटीय क्षेत्रमा फैलिँदै गएको छ।

बाढीका कारण रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भइसकेको छ। बजार क्षेत्र, सडक तथा जलविद्युत् आयोजनामा क्षति पुगेको बताइएको छ। बाढीको बहाव त्रिशूली नदीमा समेत बढ्न सक्ने भएकाले धादिङ, नुवाकोट, चितवनलगायत तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। यसैबीच, बाढी प्रभावित रसुवामा खोज तथा उद्धारका लागि नेपाली सेनाका दुई हेलिकप्टर परिचालन गरिएको छ।

सुरक्षाकर्मीका केही टोलीसमेत सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण भने अझै प्राप्त भइसकेको छैन। प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले थप विवरण आउने क्रम जारी छ। बाढीको जोखिम कम नभएसम्म काठमाडौँबाट धादिङ, रसुवा र चितवनतर्फको यातायात सञ्चालनमा थप निर्णय हुन सक्ने ट्राफिक प्रहरीले जनाएको छ।

Skip This