रसुवामा भीषण बाढी : टिमुरे बजार र भन्सार क्षेत्र तहसनहस, जलविद्युत् आयोजनामा ठूलो क्षति


काठमाडौं ।

रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। भोटेकोशी नदीमा आएको अचानकको बाढीले टिमुरे बजार, रसुवा भन्सार क्षेत्र, सडक तथा जलविद्युत् आयोजनामा व्यापक क्षति पुर्‍याएको प्रारम्भिक विवरण प्राप्त भएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बुधबार बिहान करिब सवा ९ बजेतिर एक्कासि ठूलो बाढी आएको हो। बाढीको कारण टिमुरे र आसपासका बजार क्षेत्रका घर तथा संरचना बगाएको बताइएको छ। रसुवा भन्सार क्षेत्रमा रहेका ठूलो संख्याका सवारीसाधन तथा अन्य सामग्रीसमेत बाढीले बगाएको स्थानीय अधिकारीहरूले बताएका छन्। बाढीले भन्सार क्षेत्र पूर्णरूपमा प्रभावित भएको र हाल उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको जनाइएको छ।

बाढीले एउटा जलविद्युत् आयोजना नै बगाएको छ भने चिलिमे जलविद्युत् आयोजनासहित अन्य आयोजनामा समेत क्षति पुगेको प्रारम्भिक विवरण छ। बाढीको स्रोत र यति ठूलो बाढी आउनुको कारणबारे भने थप अध्ययन आवश्यक रहेको बताइएको छ। सुरक्षाकर्मीका टोलीसमेत सम्पर्कविहीन बाढीपछि उद्धार तथा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीको अवस्थाबारे समेत चिन्ता बढेको छ। सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षकसहित ९ जनाको टोली सम्पर्कविहीन भएको प्रारम्भिक जानकारी छ।

नेपाल प्रहरीतर्फ पनि प्रहरी निरीक्षकसहितको टोली सम्पर्कविहीन रहेको बताइएको छ। सम्पर्कविहीन सुरक्षाकर्मी तथा अन्य व्यक्तिको खोजी र उद्धारका लागि सुरक्षा निकाय परिचालन गरिएको छ। तर बाढी, पहिरो र सडक अवरुद्ध भएका कारण उद्धारमा कठिनाइ भइरहेको छ। नेपाली सेनाका दुई हेलिकप्टर रसुवातर्फ बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका दुई वटा हेलिकप्टर रसुवातर्फ परिचालन गरिएको छ। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार दुई हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइएको हो। बाढीको अवस्था गम्भीर बनेपछि प्रधानमन्त्री कार्यालयले पनि सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

त्रिशूली आसपासका क्षेत्रमा उच्च सतर्कता भोटेकोशीमा आएको ठूलो बाढीका कारण त्यसको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत पर्न सक्ने भन्दै धादिङ, नुवाकोटलगायत त्रिशूली नदी आसपासका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पाण्डे गौतमका अनुसार त्रिशूली नदी आसपासका तल्लो तटीय क्षेत्रमा जोखिमलाई ध्यानमा राखेर सुरक्षा निकाय परिचालन गरिएको छ। रसुवाबाट आएको भोटेकोशी स्याफ्रुबेँसी हुँदै लाङटाङ खोलासँग मिसिएपछि धुन्चे आसपासमा त्रिशूली नदीका रूपमा बग्ने भएकाले बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत पर्न सक्ने जोखिम रहेको छ।

सडक सम्पर्कसमेत प्रभावित बाढी र नदी कटानका कारण रसुवाका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ। टिमुरे जाने सडकका विभिन्न भागमा क्षति पुगेको तथा पहिरोका कारण आवागमनमा समस्या देखिएको छ। यसैबीच, बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण अझै सार्वजनिक भएको छैन। उद्धार टोलीहरू प्रभावित क्षेत्रमा पुग्ने क्रम जारी रहेकाले क्षतिको विवरण थप बढ्न सक्ने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले पनि बुधबार देशका विभिन्न क्षेत्रमा जल तथा मौसमसम्बन्धी निगरानी जारी राखेको छ। विभागले बाढीसम्बन्धी सूचनाका लागि ११५५ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ। रसुवाको बाढीको अवस्था अझै विकसित भइरहेकाले थप विवरण आउन बाँकी छ।

Skip This