भोटेकोशी र त्रिशूलीमा आकस्मिक बाढी, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह


काठमाडौँ ।

चीनको तिब्बततर्फबाट भोटेकोशी र त्रिशूली नदीमा ठूलो बाढी प्रवेश गरेपछि जल तथा मौसम विज्ञान विभागले रसुवा, नुवाकोट, धादिङ र चितवनका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार भदौ १० गते बिहान करिब ९ बजे तिब्बततर्फबाट ठूलो मात्रामा पानी भोटेकोशीमा प्रवेश गरेको हो। बाढी रसुवा हुँदै नुवाकोटको विदुरभन्दा तलसम्म पुगिसकेको र माथिल्लो क्षेत्रमा क्षति भएको प्रारम्भिक सूचना प्राप्त भएको उनले बताए।

त्रिशूली र मर्स्याङ्दीको दोभान मुग्लिनसम्मको क्षेत्रलाई अति उच्च जोखिममा राखिएको छ। बाढी मुग्लिनसम्म पुग्न करिब ४–५ घण्टा लाग्ने अनुमान गरिएकाले आज बेलुकीसम्म विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

विभागले पृथ्वी राजमार्ग तथा त्रिशूली नदी किनारका अन्य सडकमा आवागमन नगर्न र सम्भव भएसम्म यातायात बन्द गर्न सुझाव दिएको छ। नदी किनारका बस्ती, घर तथा कृषि क्षेत्रमा रहेका नागरिकलाई तत्काल सुरक्षित र अग्लो स्थानमा जान आग्रह गरिएको छ।

त्रिशूलीमा पानीको सतह बढ्दा तादी, बुढीगण्डकी र मलेखुलगायत सहायक नदीमा समेत पानी फर्किन सक्ने भएकाले ती क्षेत्रमा पनि सतर्कता अपनाउन भनिएको छ।

वर्षाका कारण नभई आकस्मिक रूपमा बाढी आएको देखिएकाले तिब्बतमा हिमताल विस्फोट भएको हुनसक्ने आशंका गरिएको छ। घटनाबारे चिनियाँ अधिकारीसँग समन्वय गर्नुका साथै उपग्रहबाट समेत अध्ययन भइरहेको विभागले जनाएको छ।

Skip This