रसुवा ।
रसुवाका विभिन्न क्षेत्रमा बाढीको जोखिम बढेपछि स्थानीय प्रशासन तथा सुरक्षा निकायले उच्च सतर्कता अपनाएका छन्। नदी तथा खोलाको बहाव बढेसँगै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ। बाढीका कारण केही स्थानमा सडक तथा यातायात प्रभावित हुनसक्ने जोखिम रहेको छ।
नदी किनार तथा खोला आसपासका बस्तीमा थप जोखिम हुनसक्ने भएकाले स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ जान तथा अनावश्यक रूपमा नदी–खोला क्षेत्रमा नजान आग्रह गरिएको छ। यद्यपि, हालसम्म मानवीय क्षति, घर तथा भौतिक संरचनामा भएको क्षतिको यकिन विवरण सार्वजनिक भएको छैन।
सम्बन्धित निकायबाट क्षतिको विवरण संकलन तथा अवस्थाको निगरानी भइरहेको छ। यसअघि रसुवामा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति गरेको थियो। त्यस क्रममा नेपाल–चीन जोड्ने मितेरी पुल, सडक, भन्सार यार्ड, जलविद्युत् संरचना तथा ठूलो संख्यामा सवारीसाधनमा क्षति पुगेको थियो। सावधानीका लागि: नदी तथा खोलाको सतह बढिरहेको अवस्थामा किनारमा नजान, पुल तथा जोखिमयुक्त सडक प्रयोग नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।














प्रतिक्रिया