रसुवा ।
रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा बुधबार अचानक आएको बाढीले बजार क्षेत्र, सडक तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण एउटा जलविद्युत् आयोजना पूर्णरूपमा बगाएको तथा चिलिमे जलविद्युत् आयोजनासहित अन्य आयोजनामा समेत क्षति पुगेको स्थानीयबाट जानकारी प्राप्त भएको छ। टिमुरे बजारमा बाढीले घर तथा अन्य भौतिक संरचना बगाएको बताइएको छ। बाढी र नदी कटानका कारण सडक तथा यातायात पूर्वाधारमा समेत क्षति पुगेको छ।
यसैबीच, बाढीको घटनापछि सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षकसहित ९ जनाको टोली सम्पर्कविहीन भएको बताइएको छ। नेपाल प्रहरीतर्फ पनि प्रहरी निरीक्षकसहितको टोली सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ। सम्पर्कविहीन सुरक्षाकर्मीको खोजी तथा उद्धारका लागि प्रयास भइरहेको छ। भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली नदीको बहावसमेत बढ्न सक्ने भन्दै प्रशासनले धादिङ, नुवाकोटलगायत तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
रसुवाका केही सडक यसअघि नै पहिरो र नदी कटानका कारण अवरुद्ध रहेका थिए। पछिल्लो बाढीले थप क्षति पुर्याएपछि जिल्लाका विभिन्न क्षेत्रमा आवतजावत प्रभावित भएको छ। बाढीबाट भएको भौतिक तथा मानवीय क्षतिको पूर्ण विवरण भने अहिलेसम्म सार्वजनिक भइसकेको छैन। घटना विकसित भइरहेकाले क्षतिको विवरण थप आउन सक्ने स्थानीय प्रशासनले जनाएको छ।














प्रतिक्रिया