काठमाडौँ ।
विवादास्पद व्यवसायी दीपक भट्टसँग जोडिएको शंकास्पद वित्तीय कारोबार तथा धितोपत्र र बीमा ऐनविपरीतको कसुरमा अनुसन्धानका क्रममा फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका लगानी सदस्य ४२ वर्षीय सुभाष पौडेल, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडकी सञ्चालक समिति सदस्य ४१ वर्षीया सुनिता महर्जन, नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका सञ्चालक सदस्य ४५ वर्षीय अनुप मालाकार र सोही कम्पनीकी अर्की सञ्चालक सदस्य ३९ वर्षीया सुनिता श्रेष्ठ रहेका छन्।
सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार पक्राउ परेकामध्ये पौडेलमाथि धितोपत्र सम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ दुवैअन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ। महर्जनमाथि धितोपत्र सम्बन्धी ऐनअन्तर्गत तथा मालाकार र श्रेष्ठमाथि बीमा ऐनअन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ।
दीपक भट्टसँग जोडिएको लगानी र शेयर कारोबारमाथि अनुसन्धान
सीआईबीका अनुसार व्यवसायी दीपक भट्टसँग जोडिएका विभिन्न कम्पनीमा भएको शंकास्पद लगानी, शेयर कारोबारमा भएको भनिएको अनियमितता तथा बीमा क्षेत्रमा भएका भनिएका गैरकानुनी गतिविधिमा पक्राउ परेकाहरूको प्रत्यक्ष संलग्नता देखिएको छ।
अनुसन्धानका क्रममा उनीहरूको भूमिका शंकास्पद देखिएपछि प्रहरीले लामो समयदेखि खोजी गरिरहेको थियो। पक्राउपछि उनीहरूलाई थप कानुनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालत, बबरमहलमा पेश गरिएको सीआईबीले जनाएको छ।
नियामक निकायको प्रतिवेदनपछि सीआईबीको अनुसन्धान तीव्र
नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणले यसअघि नै सम्बन्धित कम्पनी तथा तिनका पदाधिकारीमाथि वित्तीय अनियमितता तथा प्रचलित ऐनविपरीतका गतिविधिमा संलग्न भएको आशंकामा विस्तृत अनुसन्धान गर्न सिफारिस गरेका थिए।
सोही आधारमा सीआईबीले अनुसन्धान अघि बढाउँदै आएको थियो। अनुसन्धानकै क्रममा फरार रहेका चार जना पक्राउ परेपछि अब उनीहरूसँग जोडिएका वित्तीय कारोबार, शेयर स्वामित्व तथा बीमा क्षेत्रका गतिविधिबारे थप तथ्य बाहिर आउने अपेक्षा गरिएको छ।
सीआईबीले घटनासँग सम्बन्धित अन्य व्यक्ति तथा कम्पनीहरूको भूमिकामाथि समेत अनुसन्धान जारी राखेको जनाएको छ।














प्रतिक्रिया