छओटा बैठकको क्यालेण्डर स्वीकृत


काठमाडौँ, (नेस) ।

प्रतिनिधिसभाले भदौ १५ देखि २४ गते सम्मको पाक्षिक कार्यतालिका स्वीकृत गर्दै लामो समयदेखि विचाराधीन विधेयकलाई अघि बढाउनेदेखि अन्तर्राष्ट्रिय महासन्धि तथा समसामयिक विषयमा छलफल गर्ने कार्यसूची तय गरेको छ ।

प्रतिनिधिसभाको कार्यव्यवस्था समितिले सभामुख डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकबाट सदनको कामकारबाहीलाई नियमित, व्यवस्थित र परिणाममुखी बनाउने उद्देश्यसहित छओटा बैठकको क्यालेण्डर स्वीकृत गरेको हो ।

बैठकले संसद् बैठकलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने तथा सदनमा विचाराधीन विषयहरूलाई प्राथमिकताका आधारमा अघि बढाउने विषयमा छलफल गर्दै क्यालेण्डर स्वीकृत गरेको सभामुख अर्यालको सचिवालयले जनाएको छ । स्वीकृत क्यालेण्डरका अनुसार प्रतिनिधि सभाको बैठकका भदौ १५, १६, १७, २२, २३ र २४ गते बस्नेछ ।

१५ गतेको सम्भावित सूचीले शून्य समयमा वार्षिक प्रतिवेदन पेश, कर्मचारी सञ्चय कोष (दशौं संशोधन विधेयक) २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने तय गरेको छ । भदौ १६ गते शून्य र विशेष समयमा मन्त्रालयगत प्रश्नोत्तर, संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिर क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण दिगो प्रयोगसम्बन्धी सम्झौताको सामान्य छलफल गर्ने तय गरेको छ । त्यस्तै भदौ १७ गते शून्य समयमा बालबालिकासम्बन्धी पहिलो संशोधन विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, भदौ २२ गते शून्य र विशेष समयमा नेपाल कानुन आयोगको पहिलो संशोधन विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तय गरिएको छ ।

त्यसैगरी भदौं २३ गते मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक, कर्मचारी सञ्चय कोषसम्बन्धी दशौँ संशोधन विधेयक, बालबालिकासम्बन्धी पहिलो संशोधन विधेयकको दफावार छलफल, २४ गते संयुक्त राष्ट्र संघीय सामाजिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत कानुनसम्बन्धी छलफल तय गरिएको छ ।

त्यसैगरी, बैठकमा संसद् बैठकलाई नियमित, मर्यादित र प्रभावकारी रूपमा सञ्चालन गर्ने, महत्वपूर्ण विधेयक तथा समसामयिक विषयहरूलाई प्राथमिकताका साथ अघि बढाउने तथा संसदीय कामकारवाहीलाई थप व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।