‘बलात्कारीलाई फाँसी देऊ’


–तीन वर्षीया गरिमाको बलात्कारपछि हत्याले संसद् तात्यो
–सांसदहरूको माग ः जघन्य अपराधमा मृत्युदण्डको कानुन बनाऊ
–‘छोरीहरू कहिलेसम्म निर्मला, लक्ष्मी र गरिमा बन्ने ?’

काठमाडौँ ।

प्रतिनिधिसभाको सोमवारको बैठकमा सांसदहरूको बहस बलात्कारीलाई कति वर्ष जेल सजाय दिने विषयमा मात्र सीमित थिएन । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले आक्रोशित सांसदहरूले बलात्कार र जघन्य अपराधमा संलग्नलाई मृत्युदण्ड दिनेसम्मको कानुन बनाउनुपर्ने माग गरे ।

सांसदहरूले नेपालमा मृत्युदण्ड सजाय प्रावधान राख्न संविधान र नेपाल पक्ष राष्ट्र भएका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता बाधक भए पनि त्यसलाई पुनरावलोकन गर्ने साहस गर्नुपर्ने तर्क अघि सारेका हुन् । ‘आजको बहस बलात्कारीलाई कति वर्ष जेल हाल्ने भन्ने नभई मृत्युदण्डको व्यवस्था किन नगर्ने भन्ने प्रश्न हो । आज सडकमा हाम्रा आमाहरू, दिदीबहिनीहरू र छोरीहरू न्याय मागिरहेका छन् । त्यसैले आजको बहस बलात्कारीलाई कति वर्ष जेल हाल्ने भन्ने होइन । यस्ता जघन्य अपराधमा मृत्युदण्डको व्यवस्था किन नगर्ने भन्ने हो’ –राप्रपाकी सांसद खुश्बु ओलीले भन्नुभयो ।

प्रहरीका अनुसार गत श्रावण ३१ गते बिहान जितपुर सिमरा उपमहानगरपालिका–१ दशधुरे टोलकी तीन वर्षीया गरिमा चौधरी एकाएक घरबाटै हराएकी थिइन् । गरिमाकी आमा मानमतीले साढे ३ घण्टासम्म नदेखेपछि सिमरा र पथलैया प्रहरीलाई जानकारी गराउनुभयो । प्रहरीले खोज्छौँ भन्ने जवाफ दिएको पर्सिपल्ट बालिकाको शव फेला प¥यो ।

यो विषय उठाउँदै सांसदहरूले बलात्कारीलाई कडा सजाय दिने गरी ऐन बनाउन आवश्यक रहेको बताएका हुन् । गरिमा चौधरीको घटनासँगै निर्मला पन्तलगायतले विगतका बलात्कार र हत्याका घटनालाई स्मरण गर्दै सांसदहरूले राज्यको दण्ड प्रणालीले यस्ता अपराध रोक्न नसकेको भन्दै प्रश्न उठाए ।

रास्वपा सांसद प्रकाश पाठकले ‘हाम्रा छोरीहरू कहिलेसम्म लक्ष्मी राजवंशी, निर्मला पन्त र गरिमा चौधरी बन्नुपर्ने हो’ भन्दै कठोर कानुनको माग गर्नुभयो । सांसद प्रकाश पाठकले भद्रपुर झापा स्थायी घर भई अध्ययनका लागि जापान पुगेकी २५ वर्षीय लक्ष्मी राजवंशीको आफ्नै कोठामा हत्या भएको विषय पनि उठाउनुभयो । हल्दीबारी–२ झापा निवासी कक्षा ७ मा अध्ययनरत १२ वर्षीय रेबिका विश्वकर्मा विगत दुई दिनदेखि बेपत्ता रहेको सुनाउँदै उहाँले तत्काल खोजी कार्य अघि बढाउन गृह मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

‘स्वदेशमा होस् वा विदेशमा हाम्रा छोरीहरू जताततै असुरक्षित छन्’, उहाँले भन्नुभयो– ‘पीडा कस्तो हुन्छ भोग्नेलाई मात्र थाहा छ । आखिर हाम्रा छोरीहरू कहिलेसम्म लक्ष्मी राजवंशी, निर्मला पन्त र गरिमा चौधरी बन्नपर्ने हो ? ’

नीतिनियममै भएको समस्याले यस्ता पाशविक घटना बढिरहेका त छैनन् भनेर हेर्न आवश्यक रहेको सुझाए । ‘संविधानको धारा १६ को उपधारा २ ले सम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित गरेको छ । तर, यसको अर्थ अपराधी र हत्याराको संरक्षण गर्न पाउनुपर्छ भन्ने होइन । हत्यारा बलात्कारी र अपराधीलाई कठोर सजाए नभएसम्म हाम्रा छोरीहरू जताततै नरपिशाचको सिकार बनिरहनेछन्’ –सांसद पाठकले भन्नुभयो ।

सांसदहरूले मृत्युदण्डको मागसँगै बलात्कारलाई नैतिक पतन हुने फौजदारी कसुरका रूपमा स्पष्ट परिभाषित गर्नुपर्ने, दोषीलाई जेलबाट छुटेपछि सार्वजनिक पदमा पुग्न नदिने र पीडितलाई न्याय पाउन हदम्याद बाधक बन्न नहुने विषय पनि उठाए । सरकारलाई यस्ता घटना किन दोहोरिरहेका छन् भन्ने गम्भीर अध्ययन गर्न र दोषीलाई छिटो कारबाही गर्न आग्रह गर्दै सांसदहरूले अब पीडितको न्याय र अपराध नियन्त्रणका लागि राज्यको कानुनी तथा दण्ड प्रणाली नै पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।

रास्वपाकी सांसद रञ्जु दर्शनाले छोरीलाई पुज्ने समाजमा छोरी नै असुरक्षित रहेको भनेर विद्यालय स्तरदेखि नै सुधारको प्रयास गर्नुपर्ने बताउनुभयो । नेपाली कांग्रेसकी सांसद शाहजान खातुनले यस्ता घटना नरोकिएको भनेर सरकारको ध्यानाकर्षण गराउनुभयो । कांग्रेसकी सांसद निनुकुमारी कर्णले राज्यले यस्ता घटना नियन्त्रण गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले यो विषयमा सरकारले जवाफ दिनुपर्ने माग गर्नुभयो । कठोर सजाय दिएर अन्य घटना हुन नदिन तयार हुनुपर्ने आग्रह गर्नुभयो । रास्वपा सांसद हरिमोहन भण्डारीले गम्भीर र जघन्य अपराधमा संलग्नलाई सरकारले पालेर राख्न नहुने बताउनुभयो । ‘यसका निम्ति जस्तो कानुन चाहिने हो त्यस्तै कानुन बनाउन तयार छौँ’ –उहाँले भन्नुभयो । रास्वपा सांसद आशिका तामाङले बलात्कारीलाई सके फाँसीको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

प्रतिपक्षी दल नेकपाले ‘छोरी बचाऊ’ राष्ट्रिय जागरण अभियान सुरु गर्न सरकारलाई आग्रह गरेको थियो । नेकपाका प्रमुख सचेतक युवराज दुलालले बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विषलाई जोड्दै भन्नुभयोे– ‘कोपिलामै खोसिएका हदयविदारक घटनाप्रति दलको दर्फबाट दुःख व्यक्त गर्दछु । छोरी बचाउ राष्ट्रिय जागरण अभियान सुरु गरौँ म आह्वान गर्दछु ।’

नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विषयलाई आधार मानेर सरकारले यस्ता घटना किन घट्छन् भन्ने निक्र्यौल गर्न माग गर्नुभयो । उहाँले यौन पिपासु मानव भएर पशुजन्य व्यवहार गर्ने व्यक्तिलाई साहस कहाँबाट प्राप्त भएको छ भन्ने पत्ता लगाउन माग गर्दै भन्नुभयो– ‘बारामा बालिकाको क्रुर हत्या भएको छ म निन्दा गर्दछु । अनुसन्धानका लागि सुरक्षा निकाय लागेको छ । केही मानिस अनुसन्धानमा तानिएका छन् । दोषीमाथि छिटो कारबाही होस् । गरिमाको परिवारले न्याय पाउनुपर्छ ।’