यौन दुर्व्यवहारको आरोपपछि भरतपुर माविका खेल शिक्षक निलम्बित

0
Shares

चितवन।

यौन दुर्व्यवहारको आरोपमा उजुरी परेपछि भरतपुर माध्यमिक विद्यालयले खेल शिक्षक रन्जेश कुमार महतोलाई निलम्बन गरेको छ।
विद्यालयका निमित्त प्रधानाध्यापक दुर्गाराम पौडेलले जारी गरेको विज्ञप्तिमा विद्यालयजस्तो संवेदनशील र जिम्मेवार क्षेत्रमा कार्यरत शिक्षकविरुद्ध यौनजन्य दुर्व्यवहारको आरोप लाग्नु गम्भीर तथा दुःखद विषय भएको उल्लेख गरिएको छ।

उजुरी परेपछि विद्यालय प्रशासनले आरोपित शिक्षकलाई निलम्बन गरी घटनाबारे भइरहेको अनुसन्धानमा सहयोग गर्ने निर्णय गरेको जनाएको छ। घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाइरहेको विद्यालयले जनाएको छ।

विद्यालय प्रशासनले प्रहरी अनुसन्धानका क्रममा आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, घटनाबाट प्रभावित पक्षलाई न्याय दिलाउने प्रक्रियामा विद्यालयका तर्फबाट आवश्यक साथ र सहयोग गर्ने जनाएको छ।

विद्यालयले शैक्षिक संस्थालाई सुरक्षित, मर्यादित र बालमैत्री वातावरणका रूपमा कायम राख्न आफू प्रतिबद्ध रहेको जनाएको छ। घटनाबारे अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा आवश्यक प्रक्रिया अघि बढाइने विद्यालय प्रशासनले स्पष्ट पारेको छ।
विद्यालयले आरोप पुष्टि नभएसम्म सम्बन्धित व्यक्तिलाई दोषीका रूपमा नलिन आग्रह गर्दै घटनासम्बन्धी विषयमा अनुसन्धानलाई प्रभावित पार्ने किसिमका गतिविधि नगर्नसमेत सम्बन्धित पक्षलाई आग्रह गरेको छ।