काठमाडौँ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका नाबालकको भिडिओ खिच्ने प्रहरी हवल्दार पक्राउ परेका छन्।
प्रहरी हवल्दार कुमार विकलाई नियन्त्रणमा लिएर बालबालिकासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले जानकारी दिए।
घटनामा पक्राउ परेका नाबालकलाई प्रादेशिक अस्पताल कलैया लगिएको थियो। यौन हिंसामा परेका बालबालिकालाई राख्ने अस्पतालको कोठामै प्रहरी तथा अन्य व्यक्तिले नाबालकको भिडिओ खिचेको पाइएको प्रहरीले जनाएको छ।
कानुनले बालबालिकाको पहिचान खुल्ने गरी उनीहरूको फोटो वा भिडिओ खिच्न तथा सार्वजनिक गर्न प्रतिबन्ध लगाएको छ। तर, हवल्दार विकले नाबालकको भिडिओ खिचेको भेटिएपछि उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो।
उक्त भिडिओमा नाबालकले घटनाबारे विस्तृत जानकारी दिएको देखिन्छ। भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक रूपमा फैलिएको थियो। घटनाबारे छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न निर्देशन दिइएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले बताए।
घटनाको थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभु ढकालसहितको टोली बारा पुगेको छ।
प्रहरीका अनुसार बालिकाको बलात्कार तथा हत्या घटनामा हालसम्म आठ जना पक्राउ परेका छन्। सार्वजनिक भएको भिडिओमा नाम उल्लेख भएका अर्का नाबालकलाई समेत सोमबार नियन्त्रणमा लिइएको एसपी कुँवरले बताए।
घटनामा अन्य सात जना पनि जोडिएको र उनीहरूको भूमिकाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया