‘बलात्कारी र भ्रष्टाचारीलाई अन द स्पट कारबाही गरौँ’: खगेन्द्र सुनार


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले बलात्कार र भ्रष्टाचारजस्ता गम्भीर अपराधमा संलग्नलाई कडा कारबाही हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद सुनारले बलात्कार र भ्रष्टाचारमा दोषी प्रमाणित भएकालाई तत्काल कडा सजाय दिने कानुन आवश्यक रहेको बताए। उनले बलात्कार र हत्याका घटनामा लामो समयसम्म बहस हुने तर पीडितले न्याय पाउन नसक्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिए।

सांसद सुनारले बझाङकी सम्झना कामी, कञ्चनपुरकी निर्मला पन्त, कैलालीकी माया कामी, रुपन्देहीकी अंगिरा पासी, खोटाङकी रेस्मिका परियार, म्याग्दीकी मिना परियारलगायतका बलात्कार तथा हत्याका घटनाको स्मरण गर्दै यस्ता घटनाको सूची निकै लामो रहेको बताए। उनले हालै गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले पनि समाजमा गम्भीर प्रश्न खडा गरेको उल्लेख गरे।

उनले पीडितका नाम लिएर संसदमा घण्टौँ बहस गर्नु मात्रै पर्याप्त नहुने भन्दै महिलाको सम्मान, सुरक्षा र बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने बताए।

सुनारले भने, ‘बलात्कारी र भ्रष्टाचारी प्रमाणित भएको खण्डमा अन दि स्पट ठोक्ने कानूनको व्यवस्था तत्काल लागू गर्न आह्वान गर्दछु।’

बलात्कार र भ्रष्टाचारजस्ता अपराधमा कुनै पनि प्रकारको सम्झौता गर्न नहुने भन्दै उनले दोषीलाई कडा कारबाही र पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराए।