काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बलात्कारपछि हत्या हुने घटनालाई सम्बोधन गर्न प्रचलित कानून संशोधन गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै नेता शाहीले कानून संशोधनका लागि आवश्यक मस्यौदा तयार गरी संसदमा पेश गर्न सरकारलाई आग्रह गरे। उनले यस्तो कानून संशोधन गर्दा सत्तापक्ष र प्रतिपक्षबीच विभाजन नगरी सबै मिलेर संसदबाट पारित गर्नुपर्ने बताए।
‘बलात्कारपछि हत्याको सम्बन्धमा नेपालमा जुन प्रचलित कानून छ, यसलाई संशोधन गर्नुपर्ने देखियो,’ उनले भने, ‘सरकारले कानूनको ड्राफ्ट बनाएर ल्याओस् । हामी सत्तापक्ष र प्रतिपक्ष नभनी यसलाई संशोधन गरेर संसदबाट पास गरौँ।’
यसैगरी, नेता शाहीले नेपालमा उत्पादित स्याउले बजार नपाएको भन्दै विदेशी स्याउको आयात रोक्न सरकारसँग आग्रह गरे। उनले विशेषगरी भदौ र असोज महिनाभर विदेशी स्याउको आयात रोक्न कृषिमन्त्रीको ध्यानाकर्षण गराए।
जुम्लामा स्याउ उत्पादनको राम्रो सम्भावना रहेको उल्लेख गर्दै शाहीले स्थानीय उत्पादन बढाउन सरकारले लगानी गर्नुपर्नेमा समेत जोड दिए। उनका अनुसार स्वदेशी स्याउलाई प्रोत्साहन गर्न सके किसानको उत्पादनले उचित बजार पाउनुका साथै आयातमा निर्भरता पनि घटाउन सकिन्छ।











प्रतिक्रिया