मालपोत कार्यालय अगाडि फेला परेको नवजात शिशुको सकुशल उद्धार, कोशी अस्पतालमा उपचार हुँदै


विराटनगर ।

मोरङको विराटनगर महानगरपालिका–७ स्थित मालपोत कार्यालय अगाडि फेला परेको नवजात शिशुको प्रहरीले सकुशल उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको छ।

प्रहरीका अनुसार आज करिब २–३ दिनको जस्तो देखिने नवजात शिशु छोरा मालपोत कार्यालय अगाडि फेला परेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले शिशुको उद्धार गरेको हो।

उद्धारपछि शिशुलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको प्रहरीले जनाएको छ। हाल शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

शिशुलाई उक्त स्थानमा कसले र किन छाडेको भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।