लन्डन, (एजेन्सी) ।
विगत दुई–तीन महिनादेखि हराइरहेका भनिएका २०१० को कमनवेल्थ गेम्सका स्वर्ण पदक विजेता तथा बेलायती एथ्लेटिक्स प्रशिक्षक लियोन बाप्टिस्ट वास्तवमा मोरक्कोको जेलमा रहेको खुलासा भएको छ ।
४१ वर्षीय बाप्टिस्टलाई एक नाबालिकमाथि यौन दुव्र्यवहार गरेको अभियोगमा दोषी ठहर गर्दै त्यहाँको अदालतले जेल सजाय सुनाएको अन्तराष्ट्रीय मिडियाले जनाएको छ । गत मे महिनामा साथीहरूसँग मोरक्को भ्रमणमा गएका उनी एकाएक सम्पर्कविहीन भएपछि उनीसँग प्रशिक्षण लिइरहेका ओलम्पिक पदक विजेता चार्ली डोब्सन लगायतका खेलाडीहरू र बेलायती एथ्लेटिक्सका अधिकारीहरूले गम्भीर चिन्ता व्यक्त गरेका थिए ।
सुरुमा बेपत्ता भएको ठानिए तापनि बीबीसीको अनुसन्धानले उनलाई मे महिनामै मोरक्कोको माराकेचबाट पक्राउ गरिएको तथ्य बाहिर ल्याएको छ । मोरक्कोको न्याय मन्त्रालयका अनुसार नाबालिकमाथि यौन दुव्र्यवहारको मुद्दामा उनलाई सुरुमा १० महिनाको जेल सजाय सुनाइएकोमा पछि पुनरावेदनमार्फत घटाएर ८ महिना कायम गरिएको हो ।
बाप्टिस्ट हाल माराकेचस्थित अल–ओदाया जेलमा सजाय भुक्तान गरिरहेका छन् । पक्राउ पर्नुअघि मे महिनामा आफ्ना खेलाडीहरूलाई ‘केही समय प्रशिक्षणमा नआउने’ संक्षिप्त सन्देश छाडेका उनले हालै जेलबाटै इमेल पठाएर स्वास्थ्य खराब भएको बहाना बनाउँदै प्रशिक्षक पदबाट राजीनामा दिएका थिए ।
यद्यपि, मोरक्कोका अधिकारीहरूले उनी पूर्ण रूपमा स्वस्थ रहेको र कानुनी प्रक्रियाअनुसार नै हिरासतमा राखिएको स्पष्ट पारेका छन् । हाल बेलायती विदेश मन्त्रालयले मोरक्कोका अधिकारीहरूसँग समन्वय गर्दै आफ्ना नागरिकलाई कूटनीतिक सहयोग उपलब्ध गराइरहेको छ भने बाप्टिस्टको अनुपस्थितिमा अन्य प्रशिक्षकहरूले टोलीको प्रशिक्षण सम्हालिरहेका छन् ।











प्रतिक्रिया