काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समूहबीच देखिएको आन्तरिक असमझदारीको असर पदाधिकारी मनोनयनमा देखिएको छ । शुक्रवार सभापति लामिछानेले सात जना पदाधिकारी मनोनयन गर्नुका साथै विभाग प्रमुख, सचिवालय र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडे पनि पार्टीका दुई महत्वपूर्ण पद उपसभापति र महामन्त्री भने रिक्त राखिएका छन् ।
रास्वपा नेताहरूका अनुसार यी दुई पद बालेन समूहसँगको पूर्वसहमतिको आधारमा टुंग्याउने तयारी थियो । तर, बालेन समूहबाट नाममा अन्तिम सहमति हुन नसकेपछि सभापति लामिछानेले तत्काल निर्णय नगरेको बताइएको छ ।
रास्वपाभित्रको पछिल्लो शक्ति समीकरणमा यी दुई पदलाई बालेन समूहको प्रभाव र पार्टीभित्रको प्रतिनिधित्वसँग जोडेर हेरिएको छ । त्यसैले पनि शुक्रवारको केन्द्रीय समिति बैठकमा अधिकांश नेताको ध्यान उपसभापति र महामन्त्रीको मनोनयनतर्फ थियो । उपसभापति पदका लागि बालेन समूहले सुनिल लम्साललाई अघि सार्ने तयारी गरेको थियो । तर, गृहमन्त्रीसमेत रहेका सुधन गुरुङले पनि उपसभापति पदमा दाबी गरेपछि समीकरण जटिल बनेको छ ।
रवि र बालेन दुवैसँग समन्वय गरेर काम गरिरहेको भन्दै गुरुङले पार्टीमा आफूलाई महत्वपूर्ण जिम्मेवारी दिनुपर्ने धारणा राख्दै आउनुभएको छ । शुक्रवार लम्साल र गुरुङ दुवै केन्द्रीय सदस्यमा मनोनीत भए पनि उपसभापतिको जिम्मेवारी भने दिइएन । यसलाई सहमति जुट्न नसकेको सङ्केतका रूपमा हेरिएको छ ।
महामन्त्री पदमा बालेन समूहले भूपदेव शाहलाई अघि सार्ने तयारी गरेको बताइएको छ । तर, सुदीप ढकाल पनि महामन्त्रीका दाबेदारका रूपमा देखिएपछि निर्णय रोकिएको नेताहरूको भनाइ छ । शुक्रवार भूपदेव शाह पनि केन्द्रीय सदस्यमा मनोनीत हुनुभयो । तर, उहाँलाई महामन्त्रीको जिम्मेवारी भने दिइएन । यसले बालेन समूहले चाहेको नाममा सभापति लामिछानेले तत्काल निर्णय गर्न नसकेको वा दुवै पक्षबीच अन्तिम सहमति हुन बाँकी रहेको सङ्केत गरेको छ ।
उपसभापति र महामन्त्री मनोनयन रोकिएकै दिन वरिष्ठ नेता बालेन भने केन्द्रीय समिति बैठकमा सहभागी हुनुभएन । साउन १३ गते वरिष्ठ नेता मनोनीत भएपछि शुक्रवारको बैठक उहाँका लागि पहिलो महत्वपूर्ण केन्द्रीय समिति बैठक थियो । तर, उहाँ बैठकमा सहभागी नभई बिहानै स्थलमार्गबाट पोखरा हुँदै मुस्ताङ पुग्नुभएको छ ।
बालेनको अनुपस्थितिलाई लिएर रास्वपाभित्र विभिन्न अड्कलबाजी सुरु भएको छ । विशेषगरी उहाँसँग जोडिएका दुई महत्वपूर्ण पदाधिकारीको मनोनयनसमेत रोकिएपछि बैठकमा उहाँको अनुपस्थितिलाई सामान्य रूपमा मात्रै लिन नहुने कतिपय नेताहरूको बुझाइ छ ।
यद्यपि, पार्टी महामन्त्री विपिन आचार्यले वरिष्ठ नेताको हैसियतमा बालेन बैठकमा उपस्थित हुनैपर्ने बाध्यता नरहेको दाबी गर्नुभएको छ । उहाँका अनुसार वरिष्ठ नेता केन्द्रीय समितिका निर्वाचित सदस्यभन्दा फरक हैसियतमा आमन्त्रितका रूपमा रहने भएकाले बैठकमा अनुपस्थित हुनुलाई असहमतिको सङ्केतका रूपमा बुझ्न नहुने पार्टीको धारणा छ ।











प्रतिक्रिया