साढे दुई दशकपछि तानका खट्खट्ले बढायो देशकै ढुकढुकी

0
Shares

हेटौँडा ।

साढे दुई दशकदेखि बन्द रहेको उद्योगका केही मेसिन (तान) चल्नु देशका लागि निश्चित रूपमा आशाको विषय हो । हेटौँडा कपडा उद्योगमा तानको खट्खट् आवाज शनिवार फेरि सुनिएको छ । देशकै पुरानो उद्योगमा गुञ्जिएको खट्खट्ले सफलताको ढुकढुकी बढाएको छ ।
देशको अपेक्षा यति मात्र होइन कि उक्त आवाज निरन्तर सुनियोस् । परीक्षण उत्पादनमा होइन, नियमित उत्पादनमै उद्योगको भविष्य तय होस् । बन्द उद्योगका मेसिनको आवाज सुनिनु आफैँमा सकारात्मक सुरुवात हो । तर, निकै पुराना केही तान एक दिन चल्नु र उद्योग वर्षौँसम्म चलिरहनुबीच ठूलो अन्तर छ ।

यहीबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले शनिवार दोस्रो पटक हेटौँडा कपडा उद्योगको निरीक्षण गर्नुभएको छ । मन्त्री यादवसहित टोली हेटौँडा उपमहानगरपालिका–८ स्थित हेटौँडा कपडा उद्योगमा पुगेको हो । प्रमुख जिल्ला अधिकारी वसन्तराज अधिकारी, नेपाली सेनाका प्रमुख सेनानी रुपेन शाक्य र हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय व्यवस्थापक संगीता कुँवरलगायत निरीक्षण टोलीमा हुनुहुन्थ्यो ।

मन्त्री यादवले कपडा उद्योगको वर्तमान अवस्था, उद्योग सञ्चालनमा देखिएका चुनौती तथा उत्पादन वृद्धि र रोजगारी सिर्जनाका सम्भावनाबारे सरोकारवालासँग छलफल पनि गर्नुभयो । मन्त्री यादवले उद्योग पुनर्संञ्चालनका लागि सरकारले आवश्यक लगानी गर्ने भन्दै उद्योग कुन मोडालिटीमा सञ्चालन गर्ने भन्नेबारे छलफल भइरहेको बताउनुभयो ।

कति लगानी गर्ने, कुन प्रविधि प्रयोग गर्ने, कति जनशक्ति आवश्यक पर्ने, कपास र धागो कहाँबाट ल्याउने, कति उत्पादन गर्ने, उत्पादन लागत कति पर्ने र बजार कसरी सुनिश्चित गर्ने भन्ने प्रश्नको जवाफ सरकारले दिने उहाँको कथन छ । उद्योग २०६९ माघ १२ गतेको मन्त्रिपरिषद् निर्णयबाट खारेजीमा परेको थियो । हाल प्रधानमन्त्री बालेन्द्र शाहको चासोमा उद्योगलाई पुनर्जीवन दिने प्रयास स्वरूप परीक्षण उत्पादन सुरु गरिएको हो ।

निरीक्षणका क्रममा कपडा उद्योगमा रहेका ४८८ मेसिन (तान) मध्ये हाल १२ वटा तान मात्र सञ्चालनमा रहेको र १५ वटाको मर्मत भएको जानकारी गराइएको थियो । कपडा उद्योगको तीन साताअघि परीक्षण उत्पादन गरिएको थियो । सरकारले नेपाली सेनालाई उद्योगको मर्मतसम्भार गरेर उत्पादन गर्ने जिम्मेवारी दिएपछि साउन २३ मा २ वटा लुम (तान) सञ्चालन गरेर प्रारम्भिक उत्पादन परीक्षण गरेको थियो । उद्योगमा १४ हजार ६ सय ८८ वटा स्पिन्डल छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार परीक्षण उत्पादनको नतिजाका आधारमा उद्योग सञ्चालनको दीर्घकालीन मोडालिटी तय गरिनेछ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी उद्योगलाई दीर्घकालीनरूपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा निर्णय लिइनेछ । हाल परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । सेनाले सरसफाइ, मेसिन तथा उपकरण मर्मतसम्भार गरी उत्पादन सुरु गरेको हो । सञ्चालन मोडालिटी तय नहुँदासम्म परीक्षण उत्पादनका लागि नेपाली सेनालाई जिम्मेवारी दिइएको हो । पछि सञ्चालनको स्वरूप तय गरिनेछ ।

हाल सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत उद्योगमा परीक्षण उत्पादन भइरहेको छ । सरकारले उद्योग पुनर्संञ्चालन भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी तथा शिक्षकले प्रयोग गर्ने पोशाक उत्पादन गर्ने लक्ष्य राखेको छ । हाल नेपाली सेनाको उत्पादन निर्देशनालयका करिब ४० जना प्राविधिक तथा विभिन्न दर्जाका सैनिक उद्योग सञ्चालनको तयारीमा खटिएका छन् ।
उद्योग चलाउनका लागि सरकारले ३३ लाख निकासा गरेको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रकम निकासाका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको थियो । जसलाई अर्थ मन्त्रालयले सदर गरेर रकम निकासा गरेको हो । रकम निकासा भएसँगै काम अगाडि बढेको हो । हेटौँडा कपडा उद्योग पुनर्संञ्चालन गर्ने घोषणा र सामान्य प्रयास नयाँ होइन । यसअघिका सरकारका ७ उद्योगमन्त्रीदेखि प्रधानमन्त्रीसम्मले पटकपटक उद्योगको निरीक्षण गरेका छन् । उद्योगको अवस्था हेरेका छन्, मेसिन चलाउने आश्वासन दिएका छन् र पुनर्संञ्चालन गर्ने घोषणा पनि गरेका छन् । तर, घोषणा र निरीक्षणको लामो शृंखलाबीच उद्योग भने वर्षौँसम्म बन्द नै रहेको छ ।